सरकार फासीवादको बाटोमा : एमाले

हिमाल प्रेस १६ असोज २०८३ १५:०२ | Friday, October 2, 2026
सरकार फासीवादको बाटोमा : एमाले संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा। तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेले वर्तमान सरकार ६ महिनामै फासीवादको बाटोमा लागेको आरोप लगाएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको ६ महिनामा फासीवादी प्रवृत्ति देखिएको भन्दै लोकतान्त्रिक बाटोमा फर्किन सुझाव दिएका छन्।

प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै थापाले सरकारको ६ महिने कार्यकाल पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरु भएर पूर्वप्रधानन्यायाधीशको ‘नाटक मञ्चन’सम्म पुगेको टिप्पणी गरे।

उनले फासीवादको बाटो त्यागेर लोकतन्त्रमा फर्किन, संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्बहाली गर्न सरकारलाई सुझाव दिए।

सुशासन र सम्पत्ति छानबिनको लोकप्रिय आवरणमा देशभक्त शक्ति, सञ्चारकर्मी, नागरिक अभियन्ता र व्यवसायीलाई निसाना बनाइएको उनको आरोप छ।

पछिल्लो ६ महिनामा संसद्समेत सत्तापक्ष सरकारको छायामा सीमित भएको, विधेयकहरू संख्या र शक्तिका आधारमा एकपक्षीय ढंगले पारित गरिएको तथा प्रतिपक्षलाई सरकारको पूरक नभई बाधकका रूपमा लिइएको थापाले बताए।

सभामुखले राजनीतिक सहमति निर्माणका लागि अगुवाइ गर्न नसकेको र संसद्मा सत्तापक्षको ‘ढ्यापढ्यापे शैली’ कायमै रहेको उनको भनाइ छ।

भदौ १० गतेको महाविपद्मा सरकारको उद्धार तथा राहत कार्यसमेत सन्तोषजनक नरहेको थापाको दाबी छ। अहंकारका कारण विदेशी सहायता लिन ढिलाइ गरेको र विपद्को समयमा उद्धार तथा राहतभन्दा आत्मप्रचारलाई प्राथमिकता दिएको आरोपसमेत उनले लगाए।

प्रकाशित: १६ असोज २०८३ १५:०२ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast