भक्तपुरको बोडेमा मनोहरा खोला किनार आसपासमा बस्ती नजिकै खेतबारीमा व्यस्त किसान। फाइल तस्बिर
काठमाडौँ- तीव्र सहरीकरण र वन क्षेत्र विस्तारका कारण पछिल्लो दुई दशकमा नेपालको कृषियोग्य जमिन ५,६४७.३ वर्ग किलोमिटरले घटेको छ। यो कुल कृषियोग्य जमिनको १४.५ प्रतिशत कमी हो। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नयाँ अध्ययनअनुसार २०५७ देखि २०७९ सम्म ठूलो परिमाणमा कृषि जमिन अन्य भूउपयोगमा परिवर्तन भएको हो।
अध्ययनअनुसार नेपालमा कुल कृषियोग्य जमिन २०५७ मा ३८,९७३ वर्ग किलोमिटर रहेकोमा २०७९ मा घटेर ३३,३२५.७ वर्ग किलोमिटरमा पुगेको छ। समीक्षा अवधिमा अन्य भूउपयोगबाट ४,७१३.५ वर्ग किलोमिटर जमिन कृषियोग्य क्षेत्रमा थपिए पनि १०,३६०.८ वर्ग किलोमिटर कृषियोग्य जमिन अन्य भू–उपयोगमा परिवर्तन भएको छ। यसबाट समीक्षा अवधिमा कृषियोग्य जमिनको खुद कमी ५,६४७.३ वर्ग किलोमिटर भएको हो।
अध्ययनका अनुसार हराएको कृषि जमिनको ठूलो हिस्सा निर्माण क्षेत्र र वनमा परिणत भएको छ। नयाँ निर्माण क्षेत्रमा वर्गीकृत ४,५०३.६ वर्ग किलोमिटर जमिनमध्ये ३,५५९.३ वर्ग किलोमिटर अर्थात् ७९ प्रतिशत जमिन यसअघि कृषियोग्य थियो।
करिब ५,८९१.८ वर्ग किलोमिटर कृषियोग्य जमिन वनमा परिणत भएको छ भने १,६२६.३ वर्ग किलोमिटर वन क्षेत्र कृषियोग्य जमिनमा परिवर्तन भएको छ।
दुई दशकमा निर्माण क्षेत्र करिब १८ गुणाले विस्तार भएको छ। यसको ठूलो हिस्सा कृषियोग्य जमिनबाट आएको अध्ययनले देखाएको छ।
२०५७ मा २६०.२ वर्ग किलोमिटर रहेको निर्माण क्षेत्र २०७९ मा बढेर ४,७५८.८ वर्ग किलोमिटर पुगेको छ। यस अवधिमा निर्माण क्षेत्र ४,४९८.६ वर्ग किलोमिटर अर्थात् १,७२८.९ प्रतिशतले बढेको हो। २०५७ को तुलनामा २०७९ मा निर्माण क्षेत्र १८.३ गुणा ठूलो भएको छ।
निर्माण क्षेत्र भन्नाले आवासीय भवन, व्यापारिक परिसर, औद्योगिक संरचना तथा राजमार्गलगायत मानव निर्मित संरचना र पूर्वाधारले ओगटेको भौगोलिक क्षेत्रलाई जनाउँछ।
नयाँ निर्माण क्षेत्रमा थपिएको ६२१.६ वर्ग किलोमिटर जमिन घाँसे मैदानबाट आएको छ। १६४.४ वर्ग किलोमिटर नदीको बगर र ११३.३ वर्ग किलोमिटर वन क्षेत्रबाट निर्माण क्षेत्रमा परिवर्तन भएको अध्ययनले देखाएको छ।
अध्ययन अवधिमा वन क्षेत्र पनि उल्लेख्य रूपमा बढेको छ। दुई दशकमा वन क्षेत्र ८.१ प्रतिशतले विस्तार भएको छ। २०५७ मा ५९,२२४.५ वर्ग किलोमिटर रहेको वन क्षेत्र २०७९ मा बढेर ६३,९९३.४ वर्ग किलोमिटर पुगेको छ।
अन्य भूउपयोगबाट वन क्षेत्रमा करिब ९,७०७.७ वर्ग किलोमिटर जमिन थपिएको छ भने वन क्षेत्रबाट ४,९३८.९ वर्ग किलोमिटर जमिन अन्य भूउपयोगमा परिवर्तन भएको अध्ययनले देखाएको छ।
अध्ययनले उच्च हिमाली क्षेत्रमा भूआवरणमा आएको परिवर्तन पनि देखाएको छ। हिउँले ढाकेको क्षेत्र २,०९८.५ वर्ग किलोमिटर अर्थात् ५७.१ प्रतिशतले बढेको छ। यस अवधिमा हिमनदीको क्षेत्रफल भने लगभग स्थिर रहेको छ। हिमनदी क्षेत्र १३.२ वर्ग किलोमिटर अर्थात् ०.३ प्रतिशत मात्र बढेको अध्ययनमा उल्लेख छ।
जल क्षेत्र ५८.४ वर्ग किलोमिटरले घटेको छ भने नदीको बगर ५८५.९ वर्ग किलोमिटरले घटेको छ। नांगो चट्टान वा माटोले ढाकेको क्षेत्र ३,६१५ वर्ग किलोमिटरले घटेको छ। घाँसे मैदान पनि सामान्य रूपमा १८६.२ वर्ग किलोमिटरले घटेको छ। अन्य काष्ठयुक्त जमिन १,२८६.५ वर्ग किलोमिटरले घटेको अध्ययनले देखाएको छ।



