जंकफुड निषेधको निर्णय विवादले विद्यालय अनिश्चितकालीन बन्द

हिमाल प्रेस १६ असोज २०८३ ६:२३ | Friday, October 2, 2026
जंकफुड निषेधको निर्णय विवादले विद्यालय अनिश्चितकालीन बन्द

काठमाडौँ- सोलुखुम्बुको सोताङ गाउँपालिका-२ चेपेलस्थित चेपेल आधारभूत विद्यालयले विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षक अभिभावक संघका सदस्यबीचको विवादका कारण विद्यालयको सम्पूर्ण कामकाज तथा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ।

विद्यालयले जारी गरेको सूचनाअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले सोताङ गाउँपालिकाको शैक्षिक श्वेतपत्रको बुँदा नं. १२ लाई आधार मान्दै विद्यालय परिसरभित्र जङ्कफुड (पत्रु खाना) निषेध गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको विषयलाई लिएर सोताङ-२ चेपेल निवासी विद्यालय शिक्षक अभिभावक संघका सदस्य तथा विद्यालय छात्रावास सञ्चालक पेमा शेर्पाले विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरूमाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको विद्यालयको पत्रमा उल्लेख छ।

विद्यालयका प्रधानाध्यापक बासु राईमाथि समेत अपशब्द प्रयोग गरी अभद्र व्यवहार गर्नुका साथै कुटपिट गर्ने नियतले हातपात गरेको पत्रमा जनाइएको छ। घटनापछि विद्यालयले शिक्षक तथा विद्यार्थीका लागि सुरक्षित वातावरण नभएको महसुस गरेको जनाएको छ।

विद्यालयले घटनालाई गम्भीर र संवेदनशील रूपमा लिँदै सम्बन्धित निकायलाई स्वयं उपस्थित गराई चित्तबुझ्दो जवाफ नदिएसम्म तथा दोषीमाथि कानुनी कारबाही नभएसम्म विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई पूर्णरूपमा सुरक्षाको वातावरण सिर्जना नभएको भन्दै सम्पूर्ण कामकाज तथा पठनपाठन बन्द गरिएको जनाएको छ।

विद्यालयका निमित्त प्रधानाध्यापक झमकबाबु बरालले जारी गरेको सूचनामा विद्यालय सञ्चालन तथा पठनपाठन पुनः सुरु गर्ने विषयमा सम्बन्धित निकायबाट आवश्यक पहल र कारबाहीको अपेक्षा गरिएको देखिन्छ।

विद्यालयले उक्त पत्रको बोधार्थ सोताङ गाउँपालिका-२ को कार्यालय, सोताङ गाउँपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुलाई पठाएको छ।

प्रकाशित: १६ असोज २०८३ ६:२३ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast