काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन गर्न लागेको जानकारीसहितको पत्रलाई अभिलेखमा राखेको छ।
निवर्तमान सभापति देउवाले मंगलबार १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए।
पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरू गरेको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले ‘पुनरावलोकनको अनुमति’ दिएको निर्वाचन आयोगलाई देउवाले स्मरण गराएका छन्।
त्यस्तै उनले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल (विधानबमोजिम थप गरिएको अवधिसमेत) २०८३ मंसिर मसान्तसम्म सकिने भएकाले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमडौँमा गर्ने निर्णय भएको आयोगलाई जानकारी गराएका छन्।




