कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे। फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बलियो जनादेशसहितको सरकारले कमजोर शासन सञ्चालन गरिरहेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङदेम्बेले जनताले परिवर्तन खोजेको भए पनि कुनै व्यक्तिको अहंकार र नेतृत्वको इच्छाअनुसारको शासन नखोजेको बताए।
‘हामीले बलियो सरकार किन कमजोर शासन गरिरहेका छौँ? हामीले परिवर्तन खोजेका हौँ, कुनै व्यक्तिको अहंकार खोजेका होइनौँ। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना होइन,’ उनले भने।
उनले सरकार झिनामसिना विषयमा अलमलिँदै जाने हो भने नेपालको उन्नति मृगतृष्णा बन्ने बताए। सरकारको कार्यशैलीमा कार्यकुशलताको अभाव देखिएको भन्दै उनले शासन अनुभवहीन अवस्थामा सञ्चालन भइरहेको जस्तो देखिएको टिप्पणी गरे।
‘सरकारमा किन कार्यकुशलताको अभाव देखिँदै छ? शासन अनुभवहीन अवस्थामा सञ्चालन भइरहेको जस्तो छ,’ आङदेम्बेले भने। उनले सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको संकेत गर्दै जनताको अपेक्षाअनुसार शासन सञ्चालन गर्नुपर्ने बताए।



