काठमाडौँ- इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको छ।
अली हेममती र माजिद निक–अन्डिसलाई उत्तरपूर्वी सहर मशादमा गत जनवरीको विरोध प्रदर्शनमा चार सुरक्षाकर्मीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको न्यायपालिकाको मिजान अनलाइनको वेबसाइटमा उल्लेख गरिएको छ।
उनीहरूले पसल, बैंक बस आदिमा आगो लगाएर सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको पनि उल्लेख गरिएको छ।
वेबसाइटका अनुसार सर्वोच्च अदालतले उनीहरूको सजायको पुष्टि गरेपछि बुधबार मृत्युदण्ड दिइएको थियो।
गत डिसेम्बरको अन्त्यमा, सुरु भएर भड्किएको विरोध आन्दोलन द्रुत गतिमा व्यापक सरकार विरोधी प्रदर्शनमा विकसित भई जनवरी ८ र ९ मा चरम सीमामा पुगेको थियो।
इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको ‘आतंकवादी’ कार्यलाई हिंसाको श्रेय दिँदै उक्त घटनामा तीन हजारभन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेका छन् भने गैरसरकारी संस्थाहरूले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गोली चलाएको दाबी गरेका छन्।
गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमा संयुक्त आक्रमण सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको जनाइएको छ।
त्यसबेलादेखि, देशमा गिरफ्तारी र मृत्युदण्ड धेरै गुणा बढेको छ, जुन द्वन्द्व र यस वर्षको सुरुमा भएको विरोध प्रदर्शन दुवैसँग जोडिएको छ।
गैरसरकारी संस्था इरान ह्युमन राइट्स एन्ड टुगेदर एगेन्स्ट द डेथ पेनाल्टीका अनुसार सन् २०२५ मा इरानले कम्तिमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो, जुन सन् १९८९ पछिका वर्षहरुमा सबैभन्दा ठूलो संख्या हो।
एम्नेस्टी इन्टरनेसनलका अनुसार हाल चीनपछि दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देशमा इरान भएको छ।-रासस/एएफपी



