रसुवा- उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी हरेक दिन ज्यान जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन्।
यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले दैनिक खोला तर्नुपर्ने, गाडीमा झुन्डिनुपर्ने र तुइनको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यता छ।
विद्यालयकी शिक्षक रन्जना थापाका अनुसार भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीको यात्रा थप कष्टपूर्ण बनेको छ।
उनी भन्छिन्,‘भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट आउने विद्यार्थीले दैनिक रूपमा त्यस्तै कष्टपूर्ण यात्रा तय गर्दै विद्यालय आइपुग्ने गरेका छन्।’
विद्यार्थीहरू दैनिक सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन्। त्यसपछि गाडीको पछाडि जोखिमपूर्ण रूपमा झुन्डिएर त्रिशूली नदी किनारको कोलोनीसम्म पुग्छन्।
त्यसपछि उनीहरूको यात्रा तुइनतर्फ मोडिन्छ। उर्लँदो त्रिशूली नदी तुइनको सहारामा पार गरेर उनीहरू ढुंगे बजार पुग्छन्। ढुंगे बजारबाट पुनः माइक्रोबस चढेर आङ्गिटार पुग्ने उनीहरू त्यहाँबाट सिहाले गाउँको करिब आधा घण्टाको उकालो पैदल यात्रा गर्छन्।
सिहाले गाउँ हुँदै बेत्रावती पुगेपछि पनि उनीहरूको यात्रा सकिँदैन। त्यहाँको फड्के तरेर थप करिब २० मिनेट उकालो हिँडेपछि मात्र विद्यार्थीहरू विद्यालय पुग्छन्।
भोटेकोशी बाढीपछि विद्यार्थीले भोग्नुपरेको यो दैनिक यात्रा बाढीले स्थानीय जनजीवनमा पारेको असरको एउटा उदाहरण बनेको छ।
शिक्षा लिन विद्यालय पुग्नकै लागि विद्यार्थीले खोला, नदी, उकालो बाटो र जोखिमपूर्ण यातायातको सामना गर्नुपरेको छ।
शिक्षक थापा विद्यार्थीको यस्तो यात्रा आफैँमा पीडादायी अवस्था भएको बताउँछिन्। ‘विद्यार्थीले खेप्नुपरेको सास्ती, थकाइलाग्दो र जोखिमपूर्ण यात्रा शिक्षकका लागि एउटा कथाजस्तै बनेको छ। तर यो दन्ते कथा नभई भोटेकोशी बाढीले उत्पन्न गरेको वास्तविकता हो,’ उनले भनिन्।
शिक्षा आर्जनका लागि दैनिक रूपमा यति ठूलो जोखिम मोल्नुपर्ने अवस्थाको समयमै अन्त्य गर्नुपर्नेमा थापाले जोड दिइन्। उनले तीन तहका सरकारले विद्यार्थीको जोखिमपूर्ण यात्राको विषयलाई गम्भीरतापूर्वक मनन गरी समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने बताइन्।



