ग्रासरुटमा लगानी नगरेसम्म खेलकुदमा परिणाम आउँदैन : खेलकुदमन्त्री पोखरेल

हिमाल प्रेस १३ असोज २०८३ १७:३१ | Tuesday, September 29, 2026
8
SHARES
ग्रासरुटमा लगानी नगरेसम्म खेलकुदमा परिणाम आउँदैन : खेलकुदमन्त्री पोखरेल

काठमाडौँ- सरकारले खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको जनाएको छ। सरकारले खेलाडीले तत्काल परिणाम दिन नसकेको भन्दा पनि खेलकुदको आधारभूत संरचना र ग्रासरुट तहमा पर्याप्त लगानी हुन नसकेको विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको हो।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज लगानी गरेर भोलि नै खेलकुदमा पदक प्राप्त गर्न नसकिने बताए।

‘खेलको क्षेत्र, शिक्षा क्षेत्र दुवै क्षेत्र भनेको कस्तो हो भने आज हामीले त्यो क्षेत्रमा लगानी गरिसकेपछि सही तरिकाबाट लगानी गर्‍यौँ भने वर्षौँपछि त्यसको लगानी देखिन थाल्छ,’ उनले भने।

एसीयाली खेलकुदलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित सफलता हासिल हुन नसक्नुको एउटा कारण ग्रासरुट तहमा पर्याप्त लगानी हुन नसक्नु रहेको उनको भनाइ थियो। ‘मेडल ल्याउन नसकेको कारण भने हामीले ग्रासरुटमा राम्रोसँग लगानी गर्न सकेका छैनौँ,’ उनले भने।

सरकारले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा नेपालका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माणको काम अघि बढाएको उनले जानकारी दिए।

उनका अनुसार ती स्थानमा कभर्ड हल, क्रिकेट स्टेडियम तथा फुटबल स्टेडियमलगायत पूर्वाधार निर्माण गरी ग्रासरुट तहबाटै खेलाडी विकास गर्ने लक्ष्य राखिएको छ।

‘न त फुटबल खेल्ने ठाउँ छ, न त क्रिकेट खेल्ने ठाउँ छ राम्रो, न त कभर्ड हल छ,’ उनले भने, ‘हामीले कभर्ड हल, क्रिकेट स्टेडियम, फुटबल स्टेडियमहरुमा लगानी गरेर नेपालभरिका २७ वटा ठाउँमा ग्रासरुटबाट नै खेलाडीहरु विकास गर्न सकौँ भनेर त्यसरी अगाडि बढाइरहेका छौँ।’

सरकारले यसअघि विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडीलाई घोषणा गरिएको पुरस्कार रकम उपलब्ध गराउन पनि पहल गरेको उनले बताए। अर्थ मन्त्रालयसँग समन्वय गरी खेलाडीले पाउनुपर्ने नगद पुरस्कारको आर्थिक सुनिश्चितता गरिएको उनको भनाइ छ।

‘अब हामीले खेलाडीहरुमा लगानी गर्न थाल्नुपर्छ, उहाँहरुलाई प्रोत्साहन दिन थाल्नुपर्छ,’ पोखरेलले भने,‘खेलाडीहरुले नखेलेर ल्याएको होइन कि राज्यले आजसम्म राम्रोसँग लगानी गर्न नसकेको हो खेलकुद क्षेत्रमा।’

प्रकाशित: १३ असोज २०८३ १७:३१ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast