बीपी राजमार्ग एकतर्फी खुल्यो, कान्तिलोकपथ पूर्ण रूपमा बन्द [के छ अरू सडकको अवस्था?]

हिमाल प्रेस १३ असोज २०८३ ७:५० | Tuesday, September 29, 2026
4
SHARES
बीपी राजमार्ग एकतर्फी खुल्यो, कान्तिलोकपथ पूर्ण रूपमा बन्द [के छ अरू सडकको अवस्था?]

काठमाडौँ- नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार धेरैजसो राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौँ उपत्यका र बागमती प्रदेशअन्तर्गत ललितपुरको कान्तिलोकपथ र टिकाभैरव-चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ।

रसुवाका सबै मुख्य राजमार्गहरू बाढीका कारण ठप्प छन् भने मकवानपुरको हेटौँडा-भैँसे-भिमफेदी-फाखेल-काठमाडौँ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात चालु गरिएको छ।

कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गसहितका सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी र पैदल यात्रीको आवातजावतमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्। मुस्ताङको जोमसोम-कोरला, पर्वतको मालढुङ्गा-बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म-गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: १३ असोज २०८३ ७:५० | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast