पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग कहिले आउँछ सञ्चालनमा?

हिमाल प्रेस ११ असोज २०८३ १५:१४ | Sunday, September 27, 2026
8
SHARES
पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग कहिले आउँछ सञ्चालनमा?

चितवन- लगातारको वर्षाले पृथ्वीराजमार्गको मलेखु-मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ।

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ।

बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ। कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुंगा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुंगासहितको साना पहिरा खसेको छ।

फिस्लिङ आसपासस्थित विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुंगा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग ३० चर्किएको छ।

चुम्लिङटारमा ढुंगासहितको पहिरो खसेको छ। धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिए।

सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुंगा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ।

इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ। अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ। सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उनले जानकारी दिए।

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७:५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२:१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो।

योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।

प्रकाशित: ११ असोज २०८३ १५:१४ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast