काठमाडौँ- शिक्षा विभागले सामुदायिक विद्यालयमा अध्ययनरत वास्तविक विद्यार्थीको विवरण IEMIS मा अद्यावधिक गर्न निर्देशन दिएको छ।
विभागले असोज मसान्तभित्र विद्यालयमा नियमित अध्ययनरत विद्यार्थीको विवरण सत्यापन गरी IEMIS मा अद्यावधिक गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो।
IEMIS मा रहेको विद्यार्थी विवरणका आधारमा विद्यालयहरूले दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, प्रतिविद्यार्थी लागत अनुदानलगायत विभिन्न शीर्षकमा स्थानीय तहसँग अनुदान माग गर्दै आएका छन्। सोही विवरणका आधारमा स्थानीय तहले विद्यालयलाई अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ।
IEMIS मा रहेको कक्षागत विद्यार्थी विवरण र विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी संख्याबीच फरक देखिएको भन्दै आर्थिक अनियमिततासम्बन्धी गुनासा तथा उजुरी प्राप्त भएको विभागले जनाएको छ।
विभागका अनुसार विद्यार्थीको गलत विवरण राख्नु कानुनीरूपमा समेत दण्डनीय छ। यसमा प्रधानाध्यापक, IEMIS फोकल पर्सन तथा लेखासम्बन्धी काम गर्ने शिक्षक वा कर्मचारी प्रमुख रूपमा जिम्मेवार हुने विभागले जनाएको छ।
विभागले विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी र IEMIS मा रहेको कक्षागत विवरण फरक भएमा विद्यालयमा नियमित अध्ययनरत विद्यार्थीको मात्रै विवरण कायम राख्न निर्देशन दिएको छ। नियमित अध्ययन नगर्ने विद्यार्थीको विवरण IEMIS बाट ‘Not in School’ गरी हटाउनुपर्नेछ।
त्यस्तै, कक्षा कोठामा नियमित उपस्थित विद्यार्थीको अभिलेख IEMIS मा नरहेको भए त्यस्ता विद्यार्थीको विवरणसमेत IEMIS मा अद्यावधिक गर्न विभागले भनेको छ।
विभागले स्थानीय तहलाई पनि विद्यार्थी विवरण सत्यापन गरेर मात्रै अनुदान निकासा गर्ने व्यवस्था मिलाउन भनेको छ। शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँग समन्वय गरी अनुगमन तथा तथ्यांक सत्यापनमा सहयोग गर्न निर्देशन दिइएको छ।
विद्यालयको IEMIS मा अद्यावधिक भएको विद्यार्थी संख्या सहितका विवरण सबैले हेर्न मिल्ने गरी emis.cehrd.gov.np को Data Portal मा राखिएको विभागले जनाएको छ।




