ट्रम्प-सी तनाव कायमै, भेट बाक्लिँदै

हिमाल प्रेस ११ असोज २०८३ १३:१७ | Sunday, September 27, 2026
6
SHARES
ट्रम्प-सी तनाव कायमै, भेट बाक्लिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (दायाँबाट बीचमा) र प्रथम महिला मेलानिया ट्रम्प (दायाँ) बिहीबार ह्वाइट हाउसको साउथ पोर्टिकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङ (बायाँबाट बीच) र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्दै। तस्बिर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले यस वर्ष थप दुईपटक भेट गर्ने भएका छन्। वासिङ्टनमा भएको शिखर बैठकमा भव्य समारोह भए पनि चीनले दुर्लभ खनिज निर्यातसम्बन्धी आफ्नो प्रतिबद्धता पूरा नगरेको अमेरिकी दाबीका कारण उत्पन्न तनाव समाधान हुन नसकेपछि उनीहरूले दुई पटक भेट्न लागेका हुन्।

ह्वाइट हाउस र चिनियाँ परराष्ट्र मन्त्रालयले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ट्रम्प र सीले नोभेम्बरमा सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहकार्य (एपेक) बैठक तथा डिसेम्बरमा मियामीमा हुने जी-२० बैठकमा भेट गर्ने जानकारी दिएका हुन्। सी तीनदिने राजकीय भ्रमण पूरा गरी शुक्रबार वासिङ्टनबाट स्वदेश फर्किएका थिए।

ह्वाइट हाउसले अमेरिका र चीनले ‘दुर्लभ खनिज तथा अन्य महत्त्वपूर्ण खनिजको आपूर्ति शृंखलामा देखिएको अभाव’ सम्बन्धमा अमेरिकी चासो सम्बोधन गर्न निरन्तर काम गरिरहेको जनाएको छ।

चिनियाँ विज्ञप्तिमा सी र ट्रम्पले सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको शिखर बैठकअघि भएका सहमति कार्यान्वयन गर्न दुवै देशका आर्थिक टोलीलाई निर्देशन दिएको उल्लेख छ। उक्त सहमतिमा एक वर्षका लागि व्यापार युद्ध रोक्ने सहमति पनि समावेश थियो।

वासिङ्टन शिखर बैठकको दुई दिनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीचको उक्त युद्धविराम जनवरी १० सम्म लम्ब्याउने सहमति भएको बताएका थिए। अमेरिकी अधिकारीहरूका अनुसार चीनले ट्रम्पको कार्यकाल सकिएसम्म युद्धविराम कायम राख्न चाहेको थियो। तर अमेरिकाले त्यसलाई अस्वीकार गर्दै दुर्लभ खनिजको निर्यात बढाउन चीनले थप कदम चाल्नुपर्ने अडान राखेको थियो।

अमेरिकी अधिकारीका अनुसार चीनले दक्षिण कोरियाको बुसानमा दुर्लभ खनिज निर्यातसम्बन्धी गरेको प्रतिबद्धताको करिब दुईतिहाइ मात्र कार्यान्वयन गरेको छ।

दुवै देशका विज्ञप्तिमा एउटा विषयमा भने फरक विवरण आएको छ। चीनले अमेरिका र चिनियाँ सेनाबीच ‘संकटको समयमा सञ्चारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने’ सहमति भएको जनाएको छ। तर ट्रम्प प्रशासनले त्यसलाई अस्वीकार गरेको छ।

‘यो सही होइन र यस विषयमा छलफलसमेत भएको थिएन,’ एक अमेरिकी अधिकारीले फाइनान्सियल टाइम्सलाई बताएका छन्।

दुवै विज्ञप्तिमा केही विषयमा समान धारणा देखिएको छ। हर्मुज जल मार्गका सन्दर्भमा दुवै देशले कुनै पनि देश वा संस्थालाई अन्तर्राष्ट्रिय जलमार्गमा शुल्क लगाउन दिन नहुने बताएका छन्।

ह्वाइट हाउसका अनुसार ट्रम्पले विश्वव्यापी आपूर्ति स्थिर बनाउन चीनलाई प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन बढाउनसमेत आग्रह गरेका थिए।

मे महिनामा ट्रम्पले चीन भ्रमण गर्दा पहिलोपटक प्रयोग गरेको वाक्यांशलाई विस्तार गर्दै अमेरिका र चीन दुवैले सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा रणनीतिक स्थिरताको रचनात्मक सम्बन्ध निर्माण गर्ने सहमति भएको बताएका छन्।

चीनले दुवै नेताले लागुऔषध नियन्त्रणका क्षेत्रमा दुई देशबीच भइरहेको सहकार्यबारे चर्चा गरेको जनाएको छ। ह्वाइट हाउसले भने चीनले फेन्टानिल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा नयाँ निर्यात नियन्त्रण लागू गरेको कदमको स्वागत गर्दै उत्तर अमेरिकाका लागुऔषध कारोबारीसम्म अवैध सामग्री पुग्ने क्रम रोक्न चीनले थप कदम चाल्नुपर्ने बताएको छ।

केही आलोचकले दुई राष्ट्रपतिबीचको शिखर बैठक उपलब्धिभन्दा बढी औपचारिकता र तामझाममा केन्द्रित भएको प्रश्न उठाएका थिए। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले शुक्रबार गैरसंवेदनशील वस्तुमा कम भन्सार दर लागू गर्ने संयन्त्र ‘बोर्ड अफ ट्रेड’ सम्बन्धी थप विवरण सोमबार सार्वजनिक गरिने बताएका छन्।

‘दुवै नेता एकअर्काको साथमा साँच्चिकै रमाइरहेको देखिन्छ। सीलाई यति सहज अवस्थामा देख्नु दुर्लभ हो,’ जर्मन मार्सल फन्डकी चीन मामिला विज्ञ बोनी ग्लेजरले भनिन्, ‘अब उनीहरू एपेक र जी-२० बैठकमा सहभागी हुने प्रतिबद्धता जनाइसकेकाले वर्षको बाँकी अवधिमा दुई देशबीचको सम्बन्धमा देखिएको तुलनात्मक स्थिरता कायम रहने सम्भावना उच्च छ।’

ग्लेजरका अनुसार यसपटकका विज्ञप्तिमा अघिल्ला शिखर बैठकको तुलनामा धेरै विषयमा समानता देखिएको छ। तर चिनियाँ विज्ञप्तिमा ताइवानको उल्लेख नभएकोमा आफू आश्चर्यमा परेको उनले बताइन्। अमेरिकी विज्ञप्तिमा पनि ताइवानको उल्लेख छैन। ट्रम्पले शनिबार दुवै नेताले ताइवानबारे धेरै समय छलफल नगरेको बताएका थिए।

पूर्वउपराष्ट्रपति डिक चेनीका उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गरिसकेका हेरिटेज फाउन्डेसनका चीन मामिला विज्ञ स्टिभ येट्सले शिखर बैठकको उद्देश्य कुनै ठूलो उपलब्धिभन्दा सम्बन्धलाई निरन्तरता दिनु रहेको बताए।

‘महत्त्वपूर्ण वा विवादास्पद विषयमा सहमति जनाउन हाम्रा प्रणालीहरू अझै अनुकूल छैनन्। बैठकअघि प्रविधि, ताइवान र व्यापारका विषयमा पछाडि फर्किने चिन्ता हुन सक्छ भन्ने अनुमान थियो। अहिलेसम्म त्यस्तो कुनै प्रमाण देखिएको छैन,’ येट्सले भने।

ह्वाइट हाउसका अनुसार ट्रम्प र सीले कृत्रिम बुद्धिमत्ता (एआई) लाई ट्रम्पले प्रयोग गर्दै आएको शब्द ‘सुपरइन्टेलिजेन्स’ भनेर सम्बोधन गर्ने सहमति गरेका छन्। तर चिनियाँ विज्ञप्तिमा जोखिमबारे विचार आदानप्रदान गर्न ‘चीन-अमेरिका एआई संवाद’ संयन्त्र स्थापना गर्ने उल्लेख छ। एआईसम्बन्धी घटनामा दुई देशबीच सञ्चारका लागि छुट्टै संयन्त्र निर्माण गर्ने पनि सहमति भएको चीनले जनाएको छ। यस्तो संयन्त्र बनाउने प्रस्ताव अमेरिकाले गरेको थियो।

अमेरिकी विज्ञप्तिका अनुसार ट्रम्पले अमेरिका, चीन र रुसबीच त्रिपक्षीय हतियार नियन्त्रण वार्ता गर्न आह्वान गरेका थिए। तर चिनियाँ विज्ञप्तिमा यस विषयको उल्लेख गरिएको छैन।

प्रकाशित: ११ असोज २०८३ १३:१७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast