काठमाडौँ- नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरिएको छ। काठमाडौँमा हालै आयोजित एक समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले कृतिको विमोचन गरेका हुन्।
उक्त पुस्तक नरेन्द्रराज प्रसाईको ९५औँ कृति हो। त्यस अवसरमा त्रिपाठीले भने, ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ।’
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा. भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गरेका थिए। ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ औँ कृति हो।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य प्रकट गरेका थिए।
नरेन्द्रराज प्रसाईले एक हजारभन्दा बढी फुटकर लेखहरू प्रकाशन गरिसकेका छन्। उनले गीत, निबन्ध र विभिन्न विशिष्ट व्यक्तित्वहरूको जीवनी लेखनमा आफ्नो कलम चलाएका छन्। प्रसाईका ‘नारीचुली’, ‘शताब्दी पुरुषको सय वर्ष’, वानीरा गिरी (जीवनी), बाङ्देलको जीवनयात्रा आदि चर्चित कृति हुन्।



