पहिरो हटाएपछि खुल्यो कान्ति लोकपथ, सवारीसाधनलाई गन्तव्यतर्फ पठाइयो

हिमाल प्रेस ११ असोज २०८३ ६:४६ | Sunday, September 27, 2026
4
SHARES
पहिरो हटाएपछि खुल्यो कान्ति लोकपथ, सवारीसाधनलाई गन्तव्यतर्फ पठाइयो

ललितपुर- कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ ।लगातारको वर्षापछि कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरि नै सवारीसाधन सञ्चालन हुन सकेको थिएन । शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।

मौसमविद्ले भोलिसम्म नै भारी वर्षाको जोखिम औँल्याएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बिहीबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको ललितपुर जिल्ला प्रशासनले शुक्रबार दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाएको थियो ।

रातको समयमा जोखिम हुने भएपछि काठमाडौँबाट छुटेका सवारीसाधनलाई टीकाभैरवबाट उता जान रोक लगाइएको छ भने मकवानपुरबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले बताए ।

सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोकपथको २७ ठाउँ जोखिमयुक्त क्षेत्र मानिएको छ । त्यसमध्ये भैँसेखोलादेखि बगुवासम्म विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको उनले जानकारी दिए । भने, ‘भैँसे खोला, बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङदुर, तामा खानी, काल्चे, माल्टा दोबाटोलगायत विभिन्न २७ ठाउँमा पहिरोको उच्च जोखिम छ ।’ अवरोध भएको सडकखण्डमा पहिरो हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

 

प्रकाशित: ११ असोज २०८३ ६:४६ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast