१३ देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस १० असोज २०८३ १२:५९ | Saturday, September 26, 2026
4
SHARES
१३ देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ- ‍ १३ देशका लागि सिफारिस भएका राजदूत पदमा नियुक्तिका लागि सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ। सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद्को सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ । प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनुवाइ गरिने सार्वजनिक सूचनामा जनाइएको छ।

समितिको यही असोज ८ गतेको बैठकले सुनुवाइको प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा।निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा।पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा.मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ । संसदीय सुनुवाइपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने समितिले जनाएको छ ।

 

प्रकाशित: १० असोज २०८३ १२:५९ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast