भोटेकोशी बाढी : रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

हिमाल प्रेस ९ असोज २०८३ २०:४२ | Friday, September 25, 2026
10
SHARES
भोटेकोशी बाढी : रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात फाइल तस्बिर

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको वनाशकारी बाढीले बगाएर बेपत्ता भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुई जना जनप्रतिनिधिको एक महिनासम्म कुनै जानकारी नपाएपछि पीडित परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए।

एक महिनासम्म स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले खोजीकार्य जारी राखे पनि उनीहरूको कुनै जानकारी पाउन सकिएको छैन।

खोजीकार्यबाट कुनै सफलता नमिल्दा बेपत्ता जनप्रतिनिधिहरू जीवितै भेटिने आशा क्षीण हुँदै गएपछि पीडित परिवारले ‘कतै जीवितै उद्धार भएका छन् कि?’ आशालाई शोकमा बदल्दै उनीहरूको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन्।

बाढीमा परी बेपत्ता भएका तीनै जना जनप्रतिनिधि स्थानीय क्षेत्रमा ऊर्जावान र उदीयमान नेताका रूपमा परिचित थिए। २०७९ को स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित लामाले स्नातकमा नर्सिङ (बीएससी) अध्ययन पूरा गरेकी थिइन्।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय उनले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेकी थिइन्। राजनीतिमा आउनुअघि उनले राष्ट्रिय महिला भलिबल टोलीको खेलाडीका रूपमा समेत देशको प्रतिनिधित्व गरेकी थिइन्।

विभिन्न सामाजिक कार्यमार्फत जनताको मन जितेर स्थानीय निर्वाचनमा वडा नं २ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका कामीछिरिङ जनताको सुखदुःखमा सधैँ साथ दिने जनप्रतिनिधि थिए।

त्यस्तै, वडा नं ५ बाट निर्वाचित दावामिङ्मार लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा समाजमा स्थापित र परिचित थिए।

गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार एकैपटक तीन जना ऊर्जावान्, योग्य र जनताका प्यारा जनप्रतिनिधि गुमाउनुपर्दा सिङ्गो पालिका इतिहासकै ठूलो संकट र शोकमा डुबेको छ। उहाँले पालिकाले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए।

गत भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीको बाढीले भीषण रूप लिएको थियो। उक्त बाढीले स्थानीय बजार, थुप्रै घर र भौतिक संरचना बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो।

बाढी गएको एक महिना बितिसक्दा स्थानीय प्रशासन र सुरक्षा निकायको खोजीकार्य जारी रहे पनि हालसम्म पनि बेपत्ताहरूको कुनै जानकारी पाइएको छैन।

विपद्को यस कठिन घडीमा बेपत्ताका परिवारसँगै सिङ्गो रसुवावासी गहिरो शोकमा डुबेका छन्। गाउँपालिकाका थुप्रै कर्मचारी, शिक्षक–शिक्षिका, बालबालिकासमेत बेपत्ता भएका छन्।

प्रकाशित: ९ असोज २०८३ २०:४२ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast