बाल उज्वल माविमा अभिनय तथा नाटक लेखन कार्यशाला

हिमाल प्रेस ९ असोज २०८३ १४:३५ | Friday, September 25, 2026
8
SHARES
बाल उज्वल माविमा अभिनय तथा नाटक लेखन कार्यशाला

नमोबुद्ध (काभ्रे)- विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई सिर्जनात्मक क्षेत्रमा अगाडि बढाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाको आयोजनामा बाल उज्वल माध्यमिक विद्यालयमा अभिनय प्रशिक्षण तथा नाटक लेखन कार्यशाला सुरु भएको छ।

असोज ७ गतेदेखि औपचारिक रूपमा थालिएको यस कार्यशालाको मुख्य प्रशिक्षकमा चर्चित नाटककार, रंगकर्मी तथा निर्देशक पुरु लम्साल छन्।

विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. १० का वडाध्यक्ष रामकृष्ण उपाध्याय प्रमुख अतिथि र नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवार विशेष अतिथि थिए। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक घनश्याम विश्वकर्माले गरेका थिए।

वडाध्यक्ष उपाध्यायले यो कार्यशाला विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि सुनौलो अवसर भएको बताए। उनले बालबालिकाले यसलाई भविष्यको उपयोगी शिक्षाका रूपमा लिँदै अभिनय तथा लेखनको सीपमार्फत आगामी दिनमा टेलिचलचित्र, चलचित्र र रंगमञ्चमा समेत आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउने विश्वास व्यक्त गरे।

विशेष अतिथि सुनुवारले यो तालिम नगरपालिकालाई ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने अभियानसँग जोडिएको स्पष्ट पारिन्। सधैँ बाहिरबाट कलाकार ल्याएर नाटक देखाउनुभन्दा आफ्नै विद्यालयका नानीबाबुहरूलाई सीप सिकाउनु अर्थपूर्ण हुने बताउँदै उनले आवश्यकता पर्दा बालबालिका आफैँ नाटक तयार गर्न सक्षम होऊन् भन्ने यसको प्रमुख उद्देश्य रहेको औंल्याइन्।

कार्यशालाको पहिलो दिन ४६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। यतिका धेरै विद्यार्थीलाई एकसाथ तालिम दिन कठिनाइ हुने भएकाले अडिसनमार्फत २५ देखि २८ जना मात्र विद्यार्थी छनोट गरिने मुख्य प्रशिक्षक पुरु लम्सालले जानकारी दिए। कार्यशालामा अभिनय र नाटक लेखनको समेत व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीले प्रशिक्षक लम्सालको सिर्जनात्मक र सक्रिय क्षमताबाट विद्यार्थीले धेरै कुरा सिकेर आफ्नो जीवनलाई उपयोगी बनाउने पूर्ण विश्वास व्यक्त गरे।

२० दिनसम्म चल्ने कार्यशालाले स्थानीय तहमा कला, संस्कृति र रंगकर्मको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast