काठमाडौँ- नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ।
यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीको निर्वाचन समितिले यो अवस्थामा मौसम विभागले सूचना जारी गरेको सन्दर्भलाई पनि दृष्टिगत गरी यही असोज १० गतेका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार गर्न यही असोज १३ गतेभित्र गरिसक्न निर्देश गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशैभर पालिका तहको अधिवेशन आयोजना गरिएको छ।
असोज ३ गते वडा अधिवेशनबाट प्रारम्भ भएको महाधिवेशनको प्रक्रिया अन्तर्गत बुधबार र बिहीबार पालिका तहको अधिवेशन आयोजना गरिएको हो।
कांग्रेसको विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुने व्यवस्था रहेको छ।
जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान रहेको छ।
कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।



