मनास्लु हिमाल (तस्बिर : मकालु एडभेन्चर)
काठमाडौँ- लगातारको हिमपात, अस्थिर हिमपातको अवस्था र हिमपहिरोको उच्च जोखिमका कारण प्रमुख पर्वतारोहण कम्पनीहरूले सन् २०२६ का लागि मनास्लु आरोहण अभियान रद्द गरेका छन्।
यससँगै विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा उच्च उत्साहका साथ सुरु भएको शरद् आरोहण मौसम अकस्मात् अन्त्य भएको छ।
नौ सदस्यीय डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीले स्थानीय समयअनुसार असोज १ गते राति ९ः२५ बजे ८ हजार १६३ मिटर अग्लो मनास्लुको शिखरमा पुगेर शरद् आरोहणका लागि मार्ग खुलाएको थियो। तर प्रतिकूल मौसमका कारण यो सिजन आरोहीहरू क्याम्प-३ भन्दा माथि अघि बढ्न सकेनन्।
गोरखा जिल्लामा अवस्थित मनास्लुमा यस सिजन अभूतपूर्व चासो देखिएको थियो। हिमाल आरोहणका लागि कीर्तिमानी ४८० वटा अनुमति जारी गरिएको थियो। पछिल्ला वर्षमा मनास्लुमा आरोहण गतिविधि बढ्दै गएको छ। आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न चाहने धेरै आरोहीले मनास्लुलाई आफ्नो पहिलो आठ हजार मिटर अभियानका रूपमा रोज्न थालेका छन्।
मौसम निरन्तर बिग्रिएपछि प्रमुख आरोहण कम्पनीहरूले आफ्ना अभियान स्थगित गर्दै फिर्ता हुन बाध्य भएका छन्।
एलिट एक्सपेडिसन्सले केही दिनसम्म मौसम र हिमालको अवस्था निगरानी गर्नुका साथै परिस्थिति सुधार हुने आशामा प्रतीक्षा गरेपछि मनास्लु २०२६ अभियान औपचारिक रूपमा रद्द गरेको जनाएको छ।
कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘ठूलो हिमपातका कारण हिमालमा माथितर्फ अघि बढ्न अत्यन्त चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ।’ लगातारको हिमपातका कारण नयाँ डोरी फिक्सिङ गर्ने सम्भावना कठिन बनेको र हिमपहिरोको जोखिमसमेत बढेको कम्पनीले जनाएको छ।
इम्याजिन नेपालका मिङ्मा जीले आफ्ना आरोही र सहयोगी टोली सुरक्षित उपत्यकातर्फ झरिसकेको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘माथिल्लो भिरालो भाग अस्थिर हिउँका तहले भरिएको थियो, जसले अत्यधिक हिमपहिरोको जोखिम सिर्जना गरेको थियो। लगातारको हिमपातले जोखिमपूर्ण अवस्था बनाएको थियो र आधार शिविर आसपाससमेत हिमपहिरोको खतरा थियो। मौसम पूर्वानुमानले थप भारी हिमपात हुने चेतावनी दिएको थियो।’
सेभेन समिट्स ट्रेक्सले पनि मनास्लु २०२६ को आरोहण सिजन बन्द गर्ने घोषणा गरेको छ। हिमालमा रहेका सबैको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले सामाजिक सञ्जालमा भनेको छ, ‘अभियानका प्राविधिक चुनौतीका लागि हामी तयारी गर्छौँ, परिस्थितिअनुसार अनुकूल हुन्छौँ र त्यसको सामना गर्ने उपाय खोज्छौँ। तर एउटा कुरा हामी कहिल्यै नियन्त्रण गर्न सक्दैनौँ- हिमपात, हावा र हिमालको अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर छन्।’
यस सिजन मनास्लुमा चार जनाको ज्यान गएको छ। भारतीय-जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण गाइड फुर्सेम्बा शेर्पाको शनिबार राति पालमा हिमपहिरो खस्दा मृत्यु भएको थियो। सिंगापुरका ५० वर्षीय आरोही लाउ वी सेङको गत बिहीबार अनुकूलन अभ्यासका क्रममा क्याम्प-२ बाट तल झर्दै गर्दा मृत्यु भएको थियो। सहयोगी टोलीका सदस्य २० वर्षीय तासी शेर्पा पनि आधार शिविरमा पालभित्र मृत भेटिएका थिए।
पछिल्ला वर्षमा मनास्लु नेपालको लोकप्रिय शरद् आरोहण गन्तव्यमध्ये एक बनेको छ। अन्य केही आठ हजार मिटर अग्ला हिमालको तुलनामा यसको आरोहण मार्ग तुलनात्मक रूपमा सहज र पहुँचयोग्य भएकाले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक आरोहण प्रयास गर्ने पर्वतारोहीबीच यसको लोकप्रियता बढ्दै गएको छ।


