काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले नयाँ मनसुनी प्रणालीको प्रभाव बढ्ने आँकल गरेर सरकारले नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनेर मात्रै नागरिकको जीउ धनको सुरक्षा गर्न नसकिने बताए।
‘नागरिकलाई घरमै बस्नु भन्ने सन्देशसँगै घरवरपरका जमिन सुरक्षित छ-छैन भनेर हेर्नुहोस् भन्न सन्देशपनि जनतासामु पु¥याउन जरुरी छ’, उनले भने, ‘पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले जमिनमा नयाँ चिरा परेको, धसिएको वा फुलेको छ कि, नयाँ ठाउँमा पानीको मुल फुटेको छ कि भनेर ध्यान दिन जरुरी छ, पहिराका पूर्वसङ्केत देखिएमा घरमै बसिरहनु भन्दा समयमै सुरक्षित स्थानमा सर्नुपर्छ।’



