काठमाडौँ- प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूलाई सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाउने भइएको छ।
बुधबार सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो निर्णय गरेको हो।
प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूको संख्या ठूलो रहेको सन्दर्भमा असोज १६ गतेभित्र ती विधेयकहरूलाई सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा परामर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
कार्यभार व्यवस्थापनका लागि असोज ८ र १२ गतेसमेत प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तथा २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने सम्बन्धमा समितिबाट परामर्श प्राप्त भएको जनाइएको छ।
प्रकाशित: ७ असोज २०८३ १५:१३ | Wednesday, September 23, 2026
प्रतिक्रिया


