काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सय जनाभन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी दिएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले ती नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी रहेको जनाएका छन्। बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा १ हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार तथा केही आफैं सम्पर्कमा भएका उनले बताएका छन्। सो आयोजनाबाट ४३९ जना सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ।
बाढी आएको १२औं दिनमा सो आयोजनाबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो । यस आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको छ । त्यस्तै माथिल्लो त्रिशूली–थ्री ‘ए’बाट ३९ जना सम्पर्कविहीन छन्। निरन्तर खोज तथा उद्धार कार्यको परिणाम स्वरुप बाढी आएको १०औं दिनमा माथिल्लो त्रिशूली थ्री ‘ए’बाट दुई जना कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गर्न सम्भव भएको मन्त्रीले बिफ्रिङ गरेका छन्।
उक्त आयोजनामा एक जनाको शव प्राप्त भएको छ। माथिल्लो त्रिशूली ३ बी बाट १७८ जना, रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, मैलङ खोला जलविद्युत आयोजनबाट ७ जना, रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट ३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जनाएका छन्।
यसैगरी लाङटाङ खोला जलविद्युत आयोजनाबाट ३९ जना सम्पर्क विहीन छन्। सो आयोजनाबाट १९ जनाको सकुशल उद्धार गरिएको र दुई वटा शव निकालिएको छ । चिलिमे जलविद्युत् केन्द्रको विद्युत गृहमा भएको खोज तथा उद्धारका क्रममा ५ जना कर्मचारीको शव प्राप्त भएको छ भने त्यहाँ अझै एक जना सम्पर्क विहीन छन्।
मिडिल त्रिशूली गंगा जलविद्युत आयोजनाबाट २ जना, त्रिशूली जलविद्युत केन्द्रबाट ३ जना, देवीघाट जलविद्युत केन्द्र, त्रिशूली थ्री बी हब, रसुवा वितरण केन्द्र, चिलिमे(त्रिशूली प्रसारण लाइनबाट पनि कर्मचारीहरु सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको संसद्मा मन्त्रीले जानकारी दिएका छन्।


