भोटेकोशी बाढीले परिवारमा बज्रपात

तीन आफन्त गुमाएका अभिभावकलाई थपियो दुःखमाथि दुःख, मृत्यु संस्कार गर्ने पनि छैन हिम्मत

हिमाल प्रेस ७ असोज २०८३ ७:१३ | Wednesday, September 23, 2026
4
SHARES
तीन आफन्त गुमाएका अभिभावकलाई थपियो दुःखमाथि दुःख, मृत्यु संस्कार गर्ने पनि छैन हिम्मत

काठमाडौँ- भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका बाँकेका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन्।

बाढीमा एकै परिवारका तीन आफन्त गुमाएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरुले सामाजिक संस्कार गर्न नपाएको बताए।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न र गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक बाढीसँगै हराए।

बेपत्ता भएको एक महिना पुग्न लाग्दासम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । दुःखमाथि दुःख थपिएको अनलालले गुनासो गरे।

‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ, न सास पाइयो, न लासः दोधारमै समय बित्यो’, अनलालले भने, ‘डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा थियो त्यो पनि प्राप्त भएको छैन। अब कसरी मृत्यु संस्कार गर्ने होला भनेर दोधारमा छौ।’

शव पहिचानका लागि ‘डिएनए’ परीक्षणको नमूना पठाएपछि दाजु–भाउजू र छोराको शव पहिचान हुने आशा जागे पनि हालसम्म ‘रिपोर्ट’ नआएको उनको भनाइ छ।

अनलालले नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमूना दिएका थिए। डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक जानकारी दिए आफूहरुलाई मृत्यु संस्कार गर्न सहज हुने उनले बताए।

‘सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ’, अनलालले भने, ‘हामी डिएनए रिपोर्टको प्रतीक्षामा छौँ। अब सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ।’

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकाय र श्रीमती कर्णसरी रोकायको गला अझै अवरुद्ध छ।

घरमा सन्नाटा र आँसु मात्रै बाँकी छ। सासको आश मारिसके पनि लास समेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताए।

नेपालगन्ज उपमहानगरपालिका–२० थपुवागाउँबाट रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता भए। सोह्र वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहेका छन्।

कमाइ गरेर खर्च पठाइदिने आमा बाबु नै गुमाएको पीडा छँदैछ त्यसमाथि शव समेत फेला पार्न नसक्दा अहिलेसम्म मृत्यु संस्कारको काम हुन नसकेको सुभाषको भनाइ छ।

नेपालगन्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता भएका आफन्तको सास वा लास फेला नपर्दा आफन्तलाई मृत्यु संस्कार गर्न द्विविधा भएको बताए।

उनले बेपत्ताको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताए।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जानकारी दिए।

बाढीमा परेर बाँकेका २३ जना हालसम्म बेपत्ता छन्। हालसम्म तीनजनाको शव सनाखत भएको छ । यस्तै, ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए। रासस

प्रकाशित: ७ असोज २०८३ ७:१३ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast