काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी।
काठमाडौँ- सोमबार त्रिपुरेश्वरमा रोकिराखिएको बसमा भएको आगजनी गरेर आफू समेत जलेका चालकको घटना छानबिन गर्न दुई समिति गठन गरिएको छ। त्रिपुरेश्वरमा बा.५ ख ४२७४ नम्बरको बसमा चालकले आगजनी गरेका थिए। चालक समेत गम्भीर घाइते छन्।
घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। यस्तै, उपत्यका प्रहरी कार्यालयले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छुट्टै समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार प्रशासनले गठन गरेको समितिलाई घटनाको अनुसन्धान तथा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
समितिमा प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य छन्।


