काठमाडौँ- रूपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।
त्यसक्रममा उनको साथबाट टाइप ५४ जस्तो देखिने एक थान पेस्तोल, त्यसको चार राउन्ड गोली, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको प्रहरीले जनाएको छ।
बरामद हातहतियार तथा अन्य सामग्री कानुनबमोजिम नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।


