नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आइतबार राजधानीमा आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’ का सहभागी।
काठमाडौँ- अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको भनाइ छ।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’ को पहिलो कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीबारे आइतबार बोल्दै अर्थसचिव उपाध्यायले यस्तो बताएका हुन्।
उनले नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि सुस्त रहेको बताए। पछिल्ला २५ देखि ४० वर्षको औसत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ महामारीका क्रममा आर्थिक वृद्धि ऋणात्मक भएको उनले उल्लेख गरे।
कमजोर निजी लगानी, घट्दो पुँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई उनले अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। स्वदेशी निजी लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ।
सरकारको पुँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने उनले बताए। नेपालको वैदेशिक व्यापारमा करिब ९० प्रतिशत आयात र १० प्रतिशत निर्यातको अवस्था रहेको उल्लेख गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्नेमा उनले जोड दिए।
यद्यपि, रेमिट्यान्स वृद्धि, जलविद्युत् विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलतालाई अर्थतन्त्रका सकारात्मक पक्षका रूपमा उनले औँल्याए। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै त्यसलाई उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने उनले बताए।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुग्ने उनको भनाइ छ। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आभूषणज्योति कंसाकारले सरकारी नीति दुई वर्ग धनी र गरिबलाई केन्द्रमा राखेर बन्ने गरेको भन्दै मध्यम वर्गका समस्या सम्बोधन हुन नसकेको बताए।
‘अहिले मध्यम वर्गका उद्यमी-व्यवसायी धेरै पीडित छन्। जेनजी आन्दोलन र भोटेकोशी बाढीले उनीहरूको भएको सबै सम्पत्ति पनि लगेको छ। बीमाले भुक्तानी दिएको छैन भने भएको सम्पत्ति पनि बैंकले धितोका रूपमा राखेको छ। थप लगानी गर्न पुँजी छैन,’ उनले भने।
यस्तो अवस्थामा सरकारले मध्यम वर्गका व्यवसायीलाई पुनः व्यवसायमा फर्कने वातावरण बनाउनुपर्ने उनले बताए।
ललितपुर च्याप्टरका अध्यक्ष अनुकूल श्रेष्ठले सरकारको नीति र युवा उद्यमीका सरोकार तथा समस्याबीच ठूलो खाडल रहेको बताए। उक्त खाडल पुर्न नीतिगत बहस आवश्यक भएकाले ‘थिंक ट्यांक सिरिज’ सुरु गरिएको उनले जानकारी दिए।
नीतिगत बहसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।


