काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन आज असोज ३ गतेदेखि देशभर उत्साहप्रद रूपमा प्रारम्भ भएको छ।
निर्वाचन कार्यक्रम अनुसार पहिलो दिन नै ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली गरी ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सफलताका साथ सम्पन्न भएको छ।
आज सम्पन्न वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक बाँकी ३१ जिल्लामा भने वडा अधिवेशनको कार्यक्रम भोलि असोज ४ गते पनि निरन्तर जारी रहने जनाइएको छ।


