छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध, कर्णाली करिडोर बन्द

हिमाल प्रेस ४ असोज २०८३ ६:४६ | Sunday, September 20, 2026
छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध, कर्णाली करिडोर बन्द प्रतिनिधिमूलक तस्बिर।

हुम्ला- कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो।

पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै रोकिएका छन्, सडकमा ठूला ठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ। जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए। आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बिच बाटोमै रोकिनुपरेको बताए ।

‘उहाँहरू पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्’, बुढाले भने ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए। उनका अनुसार सडकमा ठुला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन। सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए।

करिब १०० मिटर सडक क्षेत्रमा ठुला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ। दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली कोरिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ।

वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। कोरिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ। रासस

प्रकाशित: ४ असोज २०८३ ६:४६ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast