सशस्त्र प्रहरी सईको हत्याका अभियुक्तलाई गोली हानेर प्रहरीले समात्यो

हिमाल प्रेस ३ असोज २०८३ २१:५१ | Saturday, September 19, 2026
सशस्त्र प्रहरी सईको हत्याका अभियुक्तलाई गोली हानेर प्रहरीले समात्यो

काठमाडौँ- सिरहामा सशस्त्र प्रहरी बल नेपालका सईको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्यामा संलग्न मुख्य अभियुक्त भारत बिहार राज्य मधुबनीका ३७ वर्षीय मोहम्मद कुरबान मन्सुरीलाई प्रहरीले शनिबार गोली हानेर पक्राउ गरेको हो।

सशस्त्र प्रहरी सई यादवको हत्या भएको घटनास्थलबाटै प्रहरीले मन्सुरीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न तीन राउन्ड गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

पालका अनुसार मन्सुरीको बायाँ हातको कुहिना तथा दाहिने खुट्टाको घुँडामा गोली लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ।
भारत घर भएका उनी सिरहाको नवराजपुर गाउँपालिका–५ बस्दै आएका थिए। सशस्त्र प्रहरी सई यादवको हत्यापछि उनी भारतमा बस्दै आएका थिए।

मन्सुरी नेपाल आएको सूचना प्राप्त भएपछि प्रहरीले उनको खोजतसाल सुरू गरेको थियो।

सोही क्रममा बरियारपट्टी नगरपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमानजिक देखिएका उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली फायर गरेपछि जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाउनुपरेको डीएसपी पालले जानकारी दिए।

२०८१ मंसिर १६ गते बिहान ३ बजे कचनारीस्थित नेपाल–भारत सीमा नजिक डीएल ५ सीजे ७१७१ नम्बरको गाडीले ठक्कर दिइ सशस्त्र प्रहरी यादवको हत्या भएको थियो।

गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा यादवसहितको टोलीले रोकेर चेकजाँ गर्न खोज्दा ज्यानमार्ने उद्देश्यले ठक्कर दिई मन्सुरी फरार भएका थिए।

प्रकाशित: ३ असोज २०८३ २१:५१ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast