डा. उमेशप्रसाद घिमिरे अभिनन्दित

हिमाल प्रेस ८ असोज २०८३ १४:२४ | Thursday, September 24, 2026
6
SHARES
डा. उमेशप्रसाद घिमिरे अभिनन्दित

काठमाडौँ- बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था (साकोस)ले नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ।

साकोसको ३०औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौँमा आयोजित समारोहमा घिमिरेलाई उनको प्राज्ञिक योगदानका लागि अभिनन्दन गरिएको हो। उनी बाबियाखर्क साकोसका लामो समयदेखि सदस्य रहँदै कार्यसमिति सदस्य तथा विभिन्न उपसमितिमा रहेर सहकारीको गतिविधिमा समेत संलग्न थिए।

घिमिरेले संस्कृत वाङ्मयअन्तर्गत पौरस्त्य दर्शनमा प्रतिपादित मोक्ष तत्त्वको तुलनात्मक अध्ययन गर्दै ‘तुलनात्मकदृष्ट्या दर्शनान्तराद्वैतदर्शनाभिमतमोक्षतत्त्वविवेकः’ शीर्षकमा अनुसन्धान गरी नेपाल संस्कृत विश्वविद्यालयबाट २०८० सालमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्।

साकोसका अध्यक्ष ताराप्रसाद घिमिरेले डा. उमेशप्रसाद घिमिरे कार्यसमिति सदस्य रहेकाले त्यसअघि अभिनन्दन गर्न नसकिएको र कार्यसमितिबाट अलग भएपछि साधारणसभाको अवसर पारेर सम्मान गरिएको जानकारी दिए।

समारोहमा पूर्वमन्त्री तथा समाजसेवी लक्ष्मणप्रसाद घिमिरेले पौरस्त्य दर्शनको परमलक्ष्यका रूपमा रहेको मोक्ष वा मुक्तिका विषयमा गहन अनुसन्धान गरेर विद्यावारिधि हासिल गरेको भन्दै डा. घिमिरेलाई बधाई तथा शुभकामना दिए।

साकोसका पूर्वअध्यक्ष तथा सहकारी क्षेत्रका व्यक्तित्व ऋषिराज घिमिरेले संस्थाले पछिल्लो समय प्रगति गर्दै गएको बताए। उनका अनुसार विगतमा करिब ५० प्रतिशत रहेको भाखा नाघेको ऋण घटाएर २५ प्रतिशतमा झारिएको छ। उनले कठिन परिस्थितिमा पनि सहकारीले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै डा. घिमिरेको प्राज्ञिक उन्नतिको शुभकामना दिए।

साकोसमा ६ हजारभन्दा बढी सदस्य रहेको जनाइएको छ। साधारणसभामा चार हजार पाँच सयभन्दा बढी सेयर सदस्यको उपस्थिति रहेको संस्थाले जनाएको छ।

प्रकाशित: ८ असोज २०८३ १४:२४ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast