चितवनमा ‘सेलिब्रिटी’ जंगली हात्ती रोनाल्डो मृत भेटिए

हिमाल प्रेस ३ असोज २०८३ १५:४९ | Saturday, September 19, 2026
चितवनमा ‘सेलिब्रिटी’ जंगली हात्ती रोनाल्डो मृत भेटिए

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डो विषहजारी पोस्टनजिकै मृत भेटिएको हो।

निकुञ्जका अनुसार रोनाल्डोको मृत्युको कारण तत्काल खुल्न सकेको छैन। घटनापछि निकुञ्जको टोलीले स्थलगत अनुसन्धान थालेको छ।

अनुसन्धानबाट प्राप्त तथ्य र परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण यकिन हुने संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरले बताए।

सौराहा-खोरसोर क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाएको रोनाल्डो त्यहाँको ‘सेलिब्रिटी’ जंगली हात्तीका रूपमा परिचित थियो। हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास उसको नियमित उपस्थितिले स्थानीय तथा पर्यटकबीच पनि ऊ परिचित थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै हो। त्यसैले उसको उपस्थिति केवल जंगलमा विचरण गर्ने एउटा हात्तीको रूपमा मात्र सीमित थिएन, केन्द्रसँग जोडिएको हात्तीको पुस्तासँग समेत उसको सम्बन्ध थियो।

रोनाल्डोको शरीरमा अन्य हात्तीसँग भएको संघर्षका चिह्नसमेत देखिएका छन्। लामो समयदेखि जंगलमा अरू भाले हात्तीसँग हुने प्रतिस्पर्धा र संघर्षका क्रममा उसको पुच्छरसमेत गुमेको थियो।

रोनाल्डोको मृत्युसँगै सौराहा-खोरसोर क्षेत्रसँग जोडिएको एउटा परिचित जंगली हात्तीको कथा भने टुंगिएको छ। यद्यपि, उसको मृत्यु कसरी भयो भन्ने प्रश्नको उत्तर भने निकुञ्जको अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

प्रकाशित: ३ असोज २०८३ १५:४९ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast