भोटेकोशी बाढीमा वेपत्ता भएका पत्रकार थामी भेटिएनन्, कुशको शव बनाएर गरियो दाहसंस्कार

हिमाल प्रेस ३ असोज २०८३ १३:४३ | Saturday, September 19, 2026
भोटेकोशी बाढीमा वेपत्ता भएका पत्रकार थामी भेटिएनन्, कुशको शव बनाएर गरियो दाहसंस्कार गत भदौ १० गतेको भाेटेकाेशी बाढीमा परि बेपत्ता भएका पत्रकार टेकराज थामीको प्रतीकात्मक शव बनाएर शनिबार पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जली दिइँदै । तस्बिर : रासस

काठमाडौँ- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भए।

दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए। दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गरेको योगदानको स्मरण गरिएको छ ।

पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबीसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए। उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय समस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्वकोषाध्यक्ष हुन्।

चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन सायथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए।

पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघको झण्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए। स्वर्गीय थामी राससकर्मी एवं पत्रकार कालिका खड्काका श्रीमान् हुन्।

प्रकाशित: ३ असोज २०८३ १३:४३ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast