काठमाडौँ- जय नेपाल पार्टीकी नेत्रृ एवं महिला विभाग प्रमुख चाहना चम्पा अधिकारीले सबैको सहमतिमा ०४७ सालको राजासहितको संविधान ब्युताउन प्रस्ताव गरेकी छन्। ०७२ को संविधानले नेपालीको हित, राष्ट्रिय एकता, मौलिक पहिचान र नेपाली महिलाको सम्मान तथा अधिकारको पूर्ण प्रतिनिधित्व नगर्ने भन्दै उनले नयाँ संविधानलाई उत्सवका रूपमा मनाउन नसकिने बताएकी छन्।
‘हामी सशक्त अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्था, प्रजातान्त्रिक व्यवस्था र हिन्दु राष्ट्रको पहिचान चाहन्छौँ। साथै, २०४७ सालको संविधानलाई पुनःस्थापनाको एजेन्डामा ल्याएर नेपाली जनताको सार्वभौम निर्णयबाट देशको भविष्य तय गरिनुपर्छ भन्ने हाम्रो धारणा हो।’ उनले सामाजिक सन्जालमार्फत भनेकी छन्, ‘नेपालका महिलाहरू राष्ट्र निर्माणका आधार हुन्। महिलाको सम्मान, सुरक्षा, शिक्षा, समान अवसर, आर्थिक आत्मनिर्भरता र निर्णायक तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुने व्यवस्था हाम्रो प्राथमिकता हुनुपर्छ।’ उनले असोज ३, उत्सवभन्दा बढी प्रश्न दिन भनेकी छन्।


