नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्नुपर्छ : मुख्यमन्त्री थापा

हिमाल प्रेस ३ असोज २०८३ ११:०१ | Saturday, September 19, 2026
नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयन र नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुष्टि हुनुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले सार्वजनिक कार्यालयबाट सहज सेवा, समाजमा न्याय र सुरक्षा, युवाका लागि शिक्षा तथा रोजगारी, किसानका उत्पादनको उचित मूल्य, उद्यमीका लागि अनुकूल वातावरण र विपन्न नागरिकका लागि राज्यको संरक्षण सुनिश्चित हुनुपर्ने बताए।

उनले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा औँल्याउनुभयो। यी समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट समाधान गर्नुपर्ने भनाइ थियो।

मुख्यमन्त्री थापा मगरले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। प्रदेश सरकार नागरिक र सङ्घीय संरचनाबीचको महत्त्वपूर्ण सेतु भएको उल्लेख गर्दै उनले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिए। ‘अधिकार, जिम्मेवारी र स्रोतबीच उचित सन्तुलन कायम गर्नु सङ्घीयता सुदृढीकरणको आधार हो,’ उनले भने।

उनले बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाका प्रशस्त सम्भावना रहेको बताउँदै ती सम्भावनाको उपयोगसँगै तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागजस्ता चुनौती सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री थापा मगरले प्रशासनलाई सरल, प्रविधिमैत्री र उत्तरदायी बनाउने, सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने तथा समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिइने जानकारी दिए।

त्यस्तै, कानूनको शासन, शान्ति सुरक्षा, नागरिक अधिकारको संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताए।

प्रकाशित: ३ असोज २०८३ ११:०१ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast