कांग्रेस महाधिवेशन

गगन थापा पनि महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ

किरण पौडेल १ असोज २०८३ २१:३४ | Thursday, September 17, 2026
गगन थापा पनि महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीले अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ। यसअघिका महाधिवेशनमा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था भए पनि यसपटक कांग्रेसले त्यो प्रावधान हटाएको हो।

यससँगै सभापति गगन थापाले समेत महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर मात्र केन्द्रीय नेतृत्वको निर्वाचनमा सहभागी हुन पाउनेछन्। कांग्रेस नेताहरूका अनुसार नयाँ व्यवस्थाले केन्द्रीय नेतृत्वमा रहेका नेताहरूलाई पनि आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता र संगठनसँग जोडिनुपर्ने बाध्यता सिर्जना गरेको छ।

थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। तर पूर्वसभापति शेरबहादुर देउवा पक्षले थापा नेतृत्वको विशेष महाधिवेशनलाई अमान्य भन्दै छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। देउवा पक्षले महाधिवेशन मंसिरमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

थापा गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट सभापति चुनिएका हुन्। पार्टीभित्रको विवादकै बीच थापा पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।

कांग्रेसले गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको जिल्ला अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ।

क्रियाशील सदस्यतामै किचलो

महाधिवेशनको तयारी अघि बढिरहँदा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद भने अझै टुंगिएको छैन। कांग्रेसको सदस्यता सामान्यतः साधारण र क्रियाशील गरी दुई प्रकारको हुन्छ। विधानमा सदस्यता लिएको एक वर्ष पूरा भएपछि क्रियाशील सदस्यताका लागि योग्य हुने व्यवस्था भए पनि यसको कार्यान्वयनमा विवाद रहँदै आएको छ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका अनुसार एक वर्ष परीक्षण अवधिपछि मात्र क्रियाशील सदस्यता दिने प्रावधान छ। नयाँ सदस्यता क्षेत्रीय कार्यसमिति र नवीकरण जिल्ला कार्यसमितिको क्षेत्राधिकारमा पर्ने भए पनि व्यवहारमा क्रियाशील सदस्यता वितरणमा केन्द्र हाबी हुने गरेको नेताहरू बताउँछन्।

महाधिवेशन नजिकिएपछि मात्र क्रियाशील सदस्यता नवीकरण गर्ने अभ्यास रहेको कांग्रेसले यसपटक नवीकरणका लागि निश्चित समयसीमा तोकेको थियो। विरोध भएपछि उक्त म्यादसमेत सारिएको छ।

कांग्रेस स्रोतका अनुसार क्रियाशील सदस्यता लिने तथा नवीकरण गर्नेको संख्या करिब आठ लाख ७० हजार पुगेको छ। केही जिल्लामा भने अझै आधिकारिक सदस्यता टुंगिएको छैन।

बागलुङ, कञ्चनपुर, कैलाली, डोटी र मुगुमा सदस्यता विवाद कायम रहेको नेताहरू बताउँछन्। कांग्रेसले कार्यवाहक सभापति तोकेर भए पनि निर्धारित मितिमै अधिवेशन गर्ने तयारी गरेको छ।

कसरी चुनिन्छन् महाधिवेशन प्रतिनिधि?

कांग्रेसको नेतृत्व चयन प्रक्रियामा महाधिवेशन प्रतिनिधि सबैभन्दा महत्त्वपूर्ण तह हो। महाधिवेशन प्रतिनिधि नबनेको व्यक्ति माथिल्लो तहको निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन।

हालको व्यवस्थाअनुसार संघीय निर्वाचन क्षेत्र रहेका १६५ क्षेत्रबाट ३३ जनाका दरले पाँच हजार ४४५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। यसमा प्रदेशसभा सभापति र पालिका सभापतिसमेत जोड्दा संख्या ६ हजार ५२८ पुग्नेछ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार प्रदेशसभा र पालिका सभापतिलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था यसपटक नयाँ हो।

देशभरका ७५३ स्थानीय तहका कांग्रेस सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउनेछन्। त्यस्तै ३३० प्रदेशसभा क्षेत्रका सभापतिसमेत स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्।

३३ प्रतिनिधिमा समावेशी कोटा

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रत्येक क्षेत्रमा ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। कांग्रेस विधानअनुसार १५० जना क्रियाशील सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।

निर्वाचित हुने ३३ जनामध्ये कम्तीमा चार महिला, श्रमिक, पेसागत क्षेत्र वा विषयविज्ञबाट दुई जना, ३५ वर्षमुनिका युवाबाट एक महिलासहित तीन जना र अपांगता भएका व्यक्तिबाट एक जना प्रतिनिधि हुने व्यवस्था छ।

त्यस्तै महिला, दलित, मधेशी दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट जनसंख्याको बनोटअनुसार १० जना प्रतिनिधि समानुपातिक आधारमा निर्वाचित हुनेछन्।

विदेशबाट पनि प्रतिनिधि

कांग्रेसको महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधि सहभागी हुने व्यवस्था छ। तर विदेशबाट आउने प्रतिनिधिको संख्या भने अहिले निश्चित भइसकेको छैन। ‘अहिले सबै सदस्यता निश्चित छैन। विस्तारै प्रावधान बन्दै जानेछ,’ सदस्यसचिव कटुवालले भने।

केन्द्रीय नेतामाथि पनि भूगोलको परीक्षा

यसपटकको नयाँ व्यवस्थाले केन्द्रीय नेताहरूलाई समेत आफ्नो भूगोलमा फर्केर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने अवस्था सिर्जना गरेको छ। केन्द्रीय पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पुरानो अभ्यास हटाइएकाले नेतृत्वका आकांक्षीले तल्लो तहको निर्वाचन पार गर्नुपर्ने भएको हो।

‘भूगोल नबुझेको र भूगोलको राजनीति नगरेकालाई यसपटक सकस पर्न सक्छ। सभापति गगन थापा पनि चुनिएर आउनुपर्नेछ,’ कांग्रेसका एक नेताले भने।

नेता ढुंगानाका अनुसार केन्द्रीय नेताहरूलाई समेत भूगोल र कार्यकर्तासँग जोड्न यो व्यवस्था गरिएको हो। ‘भूगोल र कार्यकर्ता बुझ्नका लागि केन्द्रीय नेतालाई पनि क्षेत्र पठाउन यो निर्णय गरिएको हो,’ उनले भने।

प्रकाशित: १ असोज २०८३ २१:३४ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast