काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले असोज ३ गतेदेखि सुरू हुने भनिएको १५ औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न सभापति गगन थापालाई अनरोध गरेका छन्।
पार्टी एकता अझै सम्भव भएको भन्दै उनले १५ औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न अनुरोध गरेका हुन्।
‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस्,’ खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापालाई भनेका छन्,‘तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको जगमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्ष नेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता संवाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।’
अहिले भएका निर्णय वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि गरिएको भए जेठको पहिलो साताभित्रै सिंगो कांग्रेस सभापति थापाको नेतृत्वमा सानेपा पार्टी कार्यालयमा एकताबद्ध भएर उभिएको हुने उनले जिकिर गरेका छन्।
पूर्वउपसभापति खड्काले दुईवटा अलगअलग अधिवेशन नरोकिए कांग्रेस पार्टीको विभाजन कसैले रोक्न नसक्ने सचेत गराएका छन्।
‘मेरो अन्तरमनले भन्छ-कांग्रेस पार्टीको विभाजनका केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पाटीलगायत विशेषीगरी संविधान निर्माणमा महत्वपूर्ण भूमिकामा रहेका दलहरू विभाजन हुनेछन्,-गरिनेछन्,’ उनले भनेका छन्।
खड्काले विगतका घटनाक्रम र विभिन्न खालका चलखेलबाट देशमा अकल्पनीय रणसंग्राम मच्चिने आफूलाई आभास भएको जिकिर गरेका छन्।
‘विगतका घटनाक्रम, लक्षणहरू र विभिन्न खालका चलखेलले संकेत गर्दैछन्-किन हो किन मेरो अन्तरआत्माले भनिरहेको छ-देशमा जातीय, क्षेत्रिय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिनेछ-मच्चाइनेछ,’ उनले भनेका छन्,‘हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरी भीषण रणसंग्रामको दुस्चक्रमा परिणत हुने प्रबल संभावनातिर उन्मुख देखिन्छ, त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिसत्ता अनि स्वाभिमान के होला?’
अदालत, पार्टी विधानलगायतका कुराले समस्या नपर्ने भन्दै खड्काले सभापति थापालाई महाधिवेशन स्थगन गरेर एकतातर्फ केन्द्रित हुन आग्रह गरेका छन्।
‘त्यसैले गगनजी म विश्वासका साथ भन्छु-कानुन, अदालतको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्य र अप्ठेरो पर्ने छैन-पर्दैन ढुक्क हुनुस्!’


