काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले पहल गरिरहेको बताएका छन्। उनले एकताबद्ध भएर पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन सबै नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे।
उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले राखेका अधिकांश माग पार्टीले सम्बोधन गरिसकेको बताए।
‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ। मेरो पनि अनुरोध छ, महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले भने।
सभापति थापाले पार्टीभित्र हुने मतभेद र तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि आग्रह गरे। पार्टीलाई परिवारका रूपमा लिएर आपसी असमझदारीलाई संवाद र सौहार्दपूर्ण ढंगले समाधान गर्नुपर्ने उनको भनाइ छ।
‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला। हामीले कहिल्यै पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेका छैनौँ,’ उनले भने।
उनले नेपाली कांग्रेस दाइभाइको सम्बन्धमा आधारित पार्टी भएको र पार्टीलाई एउटै परिवारका रूपमा लिनुपर्ने बताए।
‘हाम्रो पार्टी दाइभाइको पार्टी हो। हाम्रो पार्टी परिवार हो, एउटै परिवार हो। परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ। मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होलान्। यी सामान्य कुरा हुन्। यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो,’ थापाले भने।
सभापति थापाले विधान, संविधान र पार्टीका निर्णयले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने अवस्था रहेको भन्दै अधिवेशन सार्न नसकिने बताए।
उनका अनुसार वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ भने विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।
यसैबीच, केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति देउवा पक्षका केही नेता पनि सानेपा पुगेका छन्।
१४औँ महाधिवेशनमा देउवा समूहबाट पदाधिकारी तथा केन्द्रीय सदस्य बनेका र गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता बैठकमा सहभागी भएका हुन्।
बैठकमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना तथा केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, किरण यादव, नैनसिंह महर, ज्ञानेन्द्रबहादुर कार्की र गोविन्द भट्टराईलगायत सहभागी छन्।
देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेको अवस्थामा उनीहरू संस्थापन पक्षको बैठकमा सहभागी भएका हुन्। हाल केन्द्रीय समिति बैठकमा सभापति थापाले सम्बोधन गरिरहेका छन्।


