एक्लिँदै देउवा

सम्भव होला त मूल धारमा ल्याउने प्रयास?

किरण पौडेल ३१ भदौ २०८३ २०:३७ | Wednesday, September 16, 2026
एक्लिँदै देउवा

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ। सभापति गगन थापा नेतृत्वको पक्षले महाधिवेशन प्रक्रिया अघि बढाउँदै असोज २६ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा छ। एउटै पार्टीमा दुई महाधिवेशनको तयारीले कांग्रेस विभाजनको जोखिम बढाएको छ।

तर देउवा पक्षले छुट्टै महाधिवेशनको बाटो समातेका बेला उनका पक्षमा रहेका दोस्रो र तेस्रो तहका नेताहरू भने गगन थापा नेतृत्वको मूलधारमा फर्किन थालेका छन्। देउवा निकट पूर्वसहमहामन्त्री डीना उपाध्याय ‘महालक्ष्मी’ को नेतृत्वमा झन्डै ४० नेता थापा पक्षमा खुलेपछि कांग्रेसको शक्ति समीकरण बदलिन थालेको हो।

थापा पक्षमा फर्किएका नेताहरूका अनुसार उनीहरूले उठाउँदै आएका अधिकांश माग सम्बोधन भएपछि छुट्टै समूहमा बसिरहनुपर्ने औचित्य सकिएको छ।

‘हाम्रा माग धेरैजसो पूरा भए। त्यही कारण अब आधिकारिकतिर नै लागियो,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्। उनका अनुसार थापा क्रियाशील सदस्यता नवीकरण, विशेष महाधिवेशनबाट थपिएका केन्द्रीय सदस्यको व्यवस्थापन र महाधिवेशनको समयसम्बन्धी विषयमा समेत लचिलो बनेपछि मूलधारमा फर्किन सहज भएको हो।

‘पहिले गगनजीले नै विशेष महाधिवेशनबाट आएको मात्र आधिकारिक हो भन्नुभएको थियो। तर अहिले लचकता अपनाउँदै १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्य भन्नुभयो,’ विश्वकर्मा भन्छन्, ‘क्रियाशील सदस्यता समय नथप्ने भन्ने कुरा थियो। त्यसमा पनि लचकता अपनाएपछि अरू समूह बनाउन आवश्यक ठानिएन।’

थापा पक्षले भ्रातृ संगठन र महाधिवेशन प्रतिनिधि मनोनयनमा समेत छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको विश्वकर्माको भनाइ छ। यही कारण देउवा पक्षबाटै ठूलो संख्यामा नेता थापा नेतृत्वमा खुल्न थालेका हुन्।

पूर्णबहादुर खड्का निकट नेताहरू पनि थापा पक्षमा आएका छन्। खड्का निकट रामहरि खतिवडा अब थापालाई सभापति मान्न तयार रहेको बताउँछन्।

‘धेरै समस्या देखिएन। हामी अब गगनजीलाई नै सभापति मान्न तयार भयौँ,’ खतिवडा भन्छन्।

देउवा अलग बाटोमा, आफ्नै नेताहरू गगनतिर

देउवा पक्षका नेताहरू एकपछि अर्को गर्दै थापा नेतृत्वमा खुलेपछि छुट्टै महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। तर देउवा पक्ष भने अझै आफ्नो महाधिवेशनको तयारीबाट पछि हटेको छैन।

संस्थापन पक्षले भने देउवा पक्ष कार्यकर्ताविहीन बन्दै गएको दाबी गरेको छ।

‘जोजो पछिल्लो समय कांग्रेस (संस्थापन) मा खुल्नुभयो, त्यो ब्रेकथ्रु मात्र हो,’ पार्टी प्रवक्ता देवराज चालिसे भन्छन्।

उनका अनुसार थापा पक्षले पार्टी एकताका लागि आवश्यक लचकता देखाउँदै आएको छ।

यही लचकताको दबाबमा देउवा पक्षका नेताहरू समेत अब पूर्वसभापति देउवालाई मूलधारकै महाधिवेशनमा सहभागी गराउने प्रयासमा जुटेका छन्।

देउवालाई समेत मूलधारमा फर्काउने प्रयास

देउवा निकट तेस्रो तहका नेताहरू अहिले देउवालाई नै थापा नेतृत्वको महाधिवेशनमा उभ्याउने प्रयास गरिरहेका छन्। उनीहरूको तर्क छ– देउवाले अब सभापति बन्न पाउने अवस्था छैन, त्यसैले नेतृत्व हस्तान्तरणलाई सम्मानजनक निकास दिएर पार्टी विभाजन रोक्न सकिन्छ।

‘देउवाजीले सबैलाई पचाउन सक्नुहुन्छ। उहाँ परिपक्व नेता हो। उहाँले अब सभापति बन्न पाउनुहुने थिएन,’ विश्वकर्मा भन्छन्, ‘उहाँका उत्तराधिकारी थिएन। गगन बन्दा पनि समस्या उहाँलाई छैन।’

अहिले उनीहरू देउवालाई थापा नेतृत्वको महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी गराउनेसम्मको तयारीमा छन्।

‘देउवाजीलाई हामी बुझाउन खोज्दै छौँ। हामीले अन्तिम प्रयत्न गर्ने हो। महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि नै बनाएर लैजाने तयारीमा लागेका छौँ,’ एक नेता भन्छन्।

ती नेताका अनुसार देउवा मूलधारमा नआउनुको मुख्य कारण नेतृत्वको सम्मानजनक ‘एक्जिट’ नपाउनु हो।

‘देउवाजीले एक्जिट राम्रो पाइनँ भन्ने इख लिनुभएको हो। अरू समस्या छैन,’ उनी भन्छन्, ‘थापाले चाहे भने यो काम हुन सक्छ।’

गगनलाई सभापति मान्न नसक्नेहरू आफैँ संकटमा

देउवा पक्षबाटै ठूलो संख्यामा नेता थापा नेतृत्वमा खुलेपछि सबैभन्दा अप्ठ्यारोमा इतरपक्षका शीर्ष नेताहरू परेका छन्। गगनलाई सभापति मान्न अस्वीकार गर्दै छुट्टै शक्ति निर्माणको प्रयासमा रहेका नेताहरूका लागि आफ्नै कार्यकर्ता र सहयोगीहरू मूलधारतिर लाग्नु चुनौती बनेको छ।

‘उहाँहरूलाई गगनलाई सभापति मान्न ज्यादै कठिन भएको छ। इखले गर्दा समस्या भएको छ,’ ती नेता भन्छन्, ‘अहिले तेस्रो धारका नेताहरू गगनसँग खुलेपछि देउवाबाहेकका इतरका नेताहरू अप्ठ्यारोमा परेका छन्। अब दुई कांग्रेस बन्न पनि कठिन बन्दै गएको छ।’

शशांक कोइराला, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत र विमलेन्द्र निधिलगायत नेताहरू थापा नेतृत्व स्वीकार गर्ने वा छुट्टै राजनीतिक बाटो रोज्ने दोधारमा रहेको ती नेताको दाबी छ।

‘उहाँहरू गगनलाई सभापति मान्न तयार हुनुहुन्न। आफूलाई गगनभन्दा सिनियर दाबी गरेकाले पनि गगनको नेतृत्व मन नपरेको हो,’ ती नेता भन्छन्।

यसअघि इतरपक्षको राष्ट्रिय भेलामा सिटौलाले समेत गगनलाई सभापति भन्न अप्ठ्यारो लागेको बताएका थिए। इतरपक्षका दोस्रो तहका अधिकांश नेता थापाभन्दा उमेर र राजनीतिक जिम्मेवारीका हिसाबले अगाडि रहेकाले पनि नेतृत्व स्वीकार्न कठिन भएको नेताहरू बताउँछन्।

खड्का पछि हटे, अरू नेतामाथि पनि दबाब

माघमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चुनिँदा पूर्णबहादुर खड्कालगायत नेताहरूले उनको नेतृत्वको चर्को विरोध गरेका थिए। अहिले खड्का निकट नेताहरू थापा पक्षमा खुलेका छन्।

खड्का स्वयं पनि सक्रिय राजनीतिबाट क्रमशः पछि हट्ने तयारीमा रहेको र आफ्ना समर्थकलाई थापा नेतृत्वमा जान बाटो खोलिदिएको नेताहरूको बुझाइ छ।

‘खड्काजी निष्क्रिय बन्नुहुन्छ होला। किनभने संस्थापनमा गएर चुनाव लड्न उहाँलाई नैतिकताले दिँदैन,’ एक नेता भन्छन्, ‘कांग्रेस विभाजनको मुद्दा इतरपक्षबाट लैजानेदेखि सबैथोक काम खड्काजीले नै गर्नुभयो। अब कुन नैतिकताले संस्थापनमा गएर चुनाव लड्ने?’

खड्का भने थापालाई सभापति मान्न तयार रहेको उनी निकट नेताहरूको भनाइ छ।

गगनलाई रोक्ने इखले इतरपक्ष नै कमजोर

इतरपक्ष तितरबितर हुँदै गएपछि गगन थापाको नेतृत्व स्वीकार्न नसक्ने नेताहरू अहिले राजनीतिक दबाबमा परेका छन्। देउवा पक्षबाटै नेताहरू थापा नेतृत्वमा खुलेपछि इतरपक्षले बनाएको छुट्टै शक्ति समीकरण झन् कमजोर भएको छ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार गगन थापाले जेनजी पुस्ताको नेतृत्व लिन नसकेको र पुरानो पुस्तालाई पनि पूर्ण रूप आकर्षित गर्न नसकेका कारण कांग्रेसभित्र उनको नेतृत्वमाथि प्रश्न उठेको हो।

‘अरू नेताले सभापति किन मान्दैनन् भने गगन जेनजीको र पुरानो कार्यकर्ताको नेतासमेत हुन सकेनन् भन्ने बुझाइ उनीहरूमा छ,’ दाहाल भन्छन्, ‘कांग्रेसलाई पार्टी मान्ने पुरानो पुस्ता अझै छ। तर त्यो पुस्ता पनि गगनलाई सभापति मान्न तयार देखिँदैन।’

दाहालका अनुसार गगनले जेनजी आन्दोलनको नेतृत्व लिन नसकेको विषयले पनि पुराना नेताहरूलाई इतरपक्षमै टिकिरहन बल दिएको छ। सर्वोच्च अदालतमा चलिरहेको मुद्दा र देउवा पक्षले आधिकारिकता लिन सक्ने अनुमानले समेत उनीहरूलाई थापा पक्षमा खुल्न रोकिरहेको उनको बुझाइ छ।

पछिल्लो समय देउवा निकट नेताहरू नै थापा नेतृत्वमा खुल्न थालेपछि यो समीकरण फेरिन थालेको छ। देउवा पक्षबाटै नेताहरू गगनलाई स्वीकार गर्दै मूलधारमा फर्किएपछि गगनलाई सभापति मान्नै नसकिने अडानमा रहेका नेताहरूको राजनीतिक आधार भने खुम्चिँदै गएको छ।

देउवा पक्षबाटै नेता थापा नेतृत्वमा खुलेपछि कांग्रेसमा अहिले मुख्य प्रश्न गगनलाई रोक्ने कि देउवासहित सबैलाई मूलधारमा फर्काउने भन्ने बनेको छ। थापा पक्षले लचकता देखाएर असन्तुष्ट समूहलाई समेट्ने प्रयास गरिरहँदा देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीबाट पछि हटेको छैन। यही टकरावले कांग्रेसको आगामी महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको एकता जोगाउने वा विभाजनतर्फ जाने निर्णायक मोड बनाएको छ।

प्रकाशित: ३१ भदौ २०८३ २०:३७ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast