फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई वर्तमान कार्यसमितिमा राख्ने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो।
कार्यसम्पादन समितिको यो निर्णयसँगै १४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा आउने बाटो खुलेको छ।
‘१४ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका सबै केन्द्रीय सदस्यहरूलाई अहिलेको कार्यसमितिमा इन्डोर्स गर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य बजरंग नेपालीले भने,‘जो आउनु हुन्छ सबै जना केन्द्रीय सदस्य भइहाल्नुभयो, आउन नचाहनेलाई के नै गर्न सकिन्छ।’
उनले अब बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन सबैलाई आह्वान गरिने उनले बताए। नेपालीले वर्तमान केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूलाई १५ औँ महाधिवेशन आयोजक समितिको हैसियतमा समावेश गराउने निर्णय भएको जानकारी दिए।
संस्थापन समूहले देउवा नेतृत्वको कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समावेश गर्ने निर्णय गरे पनि पदाधिकारीबारे केही बोलेको छैन। इतर समूहले भने १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने अडान लिएको छ।
कांग्रेस संस्थापन समूहले असोज १६ देखि १८ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। यसका लागि असोज ३ र ४ गते वडा तहका अधिवेशन गर्ने कार्यतालिका छ। कांग्रेस संस्थापनले पुससम्म नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय यसअघि नै गरिसकेको छ।
यता देउवा समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी कार्यक्रम अगाडि बढाएको छ। यो समूहले मंसिर २१-२३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरेको छ।


