काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना केवल घर निर्माणसँग मात्र जोडिएको विषय नभई उनीहरूको भविष्यको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीसमेत भएको बताएका छन्।
मुख्यमन्त्री थापा मगरले भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले बाढीपहिरोबाट विस्थापित नागरिकलाई पुनः त्यही क्षेत्रमा बस्ती बसाल्नु दीर्घकालीन रूपमा उपयुक्त नहुने स्पष्ट पारेका छन्। ‘विपद् प्रभावित नागरिकको पुनर्स्थापना केवल घर निर्माणसँग मात्र जोडिएको विषय होइन, उनीहरूको भविष्यको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी पनि हो,’ मुख्यमन्त्री थापा मगरले भने।
उनका अनुसार प्रभावित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा पुनःस्थापना गर्ने उद्देश्यले स्थानीय तहले जग्गा उपलब्ध गराउने र बागमती प्रदेश सरकारले स्थायी आवास निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। मुख्यमन्त्री थापा मगरले जोखिमयुक्त क्षेत्रमा पुनःबस्ती बसाल्नुको सट्टा सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिइएको बताएका छन्। ‘भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छन् । त्यसैले ती स्थानमा पुनः बस्ती बसाल्नु दीर्घकालीन रूपमा उपयुक्त हुँदैन,’ उनले स्पष्ट पारे।


