नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपका लागि छनोट

हिमाल प्रेस २७ भदौ २०८३ १५:३८ | Saturday, September 12, 2026
नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपका लागि छनोट

काठमाडौँ- नेपालले पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको हो।

शनिबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको हो।

योसँगै नेपालले लगातार दोस्रोपटक एकदिवसीय फर्मेटको एसीसी प्रिमियर जित्ने पहिलो टोली बनेको छ। यसअघि नेपालले सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसीसी प्रिमियर कप जितेको थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी–२० फर्मेटमा खेलाइएको थियो।

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ। नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो।

गत संस्करणको विजेता बनेको यूएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो।

फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो। उसका लागि राुहल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन।

यस्तै सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा चनवीरले १५ रन जोडे।

नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक/एक विकेट लिए।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो।

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको इनिङ खेलेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै, गुलशनकुमार झाले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको पारी खेलेका हुन्।

एकदिवसीय अन्तर्राष्टियमा गुलशनको यो छैटौँ अर्धशतक हो। यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे।

यूएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एक/एक एक विकेट लिएका थिए।

प्रकाशित: २७ भदौ २०८३ १५:३८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast