काठमाडौँ- युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिँदै जाँदा गाउँ रित्तिँदै गएको छ। गाउँमा वृद्ध बुवाआमा एक्लिँदै छन् भने परिवारभित्रको दूरी पनि बढ्दै गएको छ। यही सामाजिक यथार्थलाई हजुरबुवा र नातिनीको सम्बन्धमार्फत प्रस्तुत गर्ने नाटक ‘लौरो’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ।
ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीको अभिनय रहेको नाटकले युवापुस्ता विदेश पलायन हुँदै गएको वर्तमान अवस्था, गाउँमा युवाहरूको अभाव, वृद्ध बुवाआमाको एक्लोपन र पारिवारिक दूरीलाई कथाको केन्द्रमा राखेको छ।
संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ र अभिमन्यु भट्टलगायतको अभिनय रहेको नाटकको मञ्च व्यवस्थापन प्रसिज घिमिरेले गरेका छन्।
रुबिन सुनार सहायक निर्देशक रहेको नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका हुन्। बुवाआमाको भावनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा ‘लौरो’लाई प्रस्तुत गरिएको निर्देशक अवस्थीले बताए। ‘यो मेरो परिवारको मात्रै नभएर धेरैको पारिवारिक कथा हो,’ उनले भने।
नाटक मञ्चनले विद्यार्थीलाई अभिनयको सीपसँगै संवादकला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्ने विद्यालयका प्रशासन प्रमुख रामरमण हुमागाईंले बताए। विद्यार्थीले विद्यालयमा सिकेको सीपलाई वास्तविक रंगमञ्चमा प्रस्तुत गर्दै दर्शकमाझ आफ्नो प्रतिभा देखाउने अवसर पाउने उनले बताए।
भदौ २३ देखि मञ्चन थालिएको नाटक २७ गतेसम्म मञ्चन हुनेछ।


