खर्च अभावले सडकमै बच्चा जन्माएको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश, सांसद कर्णद्वारा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २५ भदौ २०८३ १४:०५ | Thursday, September 10, 2026
खर्च अभावले सडकमै बच्चा जन्माएको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश, सांसद कर्णद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ- आर्थिक अभावले अस्पतालले भर्ना नदिएको र सडकमै बच्चा जन्माएको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले आज बैठकमा सोही विषयवस्तुलाई उठाउँदै सरकारप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।

‘यो केवल एउटा परिवारको पीडा र दुःखको विषय होइन। यो हाम्रो स्वास्थ्य प्रणाली, राज्यको उत्तरदायित्व, सार्वजनिक अस्पतालको सेवा प्रवाह र सुशासनमाथि गम्भीर प्रश्न हो। केवल केही सय रुपैयाँको अभावका कारण एक गर्भवती महिलाले सुरक्षित प्रसूति सेवा नपाई अस्पतालको गेटबाहिर सडकमा शिशु जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद, अमानवीय र संवेदनशील विषय हो।’

उनले भने,’सरकारी अस्पताल नागरिकको करबाट सञ्चालन हुन्छ। त्यसैले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुनु हुँदैन। अझ आमा र नवजात शिशुको जीवनसँग प्रत्यक्ष जोडिएको प्रसूति सेवामा आर्थिक अभावका कारण उपचार रोकिएको हो भने यो विषय झन् गम्भीर हुन्छ।’

राजविराज नगरपालिका–१४, परसाही टोल निवासी हरेराम पासवानकी श्रीमती बविता पासवान गर्भवती अवस्थामा भदौ २३ गते मंगलबार राति करिब २ बजे प्रसूति सेवाका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। कर्णले पासवानको परिवारलाई उदृत गर्दै भनेका छन्,’अस्पतालमा भर्ना प्रक्रिया पूरा गर्न तथा सुगर जाँच अर्थात् रगत परीक्षणलगायतका लागि ३ हजार २ सय रुपैयाँ आवश्यक रहेको थियो। तर, परिवारसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र उपलब्ध थियो। करिब ७ सय रुपैयाँ अपुग भएकै कारण आवश्यक जाँच तथा भर्ना प्रक्रिया अघि बढ्न नसकेको र अन्ततः गर्भवती बविता पासवान अस्पतालबाट बाहिरिनुपरेको छ।’

अस्पतालमा प्रवेश नपाएपछि गेटबाहिर सडकमा बच्चा जन्माएको कर्णले जनाएका छन्। उनले यो घटनालाई सरकारको ध्यानाकर्षण हुनुपर्ने जनाएका छन्।

प्रकाशित: २५ भदौ २०८३ १४:०५ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast