त्रिशूली पुगेर ओलीले भने : उच्च पदस्थ अधिकारीहरूको भ्रमण औपचारिकतामा मात्र सीमित भयो

हिमाल प्रेस २० भदौ २०८३ ११:११ | Saturday, September 5, 2026
त्रिशूली पुगेर ओलीले भने : उच्च पदस्थ अधिकारीहरूको भ्रमण औपचारिकतामा मात्र सीमित भयो

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताएका छन्। रसुवामा आएको बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका अध्यक्ष ओलीले बाढी र पहिरोका कारण जनधनको अपूरणीय क्षति भएको उल्लेख गरे।

प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटकको बाढीको प्रकृति र बहावको धार अस्वाभाविक रहेको बताए। अध्यक्ष ओलीले उद्धार र तत्कालको राहत मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन पुनर्निर्माण र व्यवस्थापनमा जोड दिए । उच्च पदस्थ अधिकारीहरूको भ्रमण केवल औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै उनले सरकारको प्रभावकारिता जनताले प्रत्यक्ष महशुस गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले भने, ‘मानिसहरूले भाग्ने समय समेत नपाउने गरी बस्तीमा बाढी पसेको छ । खोलाको सीमाना नै नरहने गरी आएको यो असाधारण बाढीले हजारौँको संख्यामा भौतिक संरचना ध्वस्त पारेको छ । झाडी र घरका छतहरूमा शव भेटिनु अत्यन्तै हृदयविदारक छ । बाटोघाटो, पुल र अन्य भौतिक संरचनाको पुनर्निर्माणका साथै पीडितहरूको आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि ठोस योजना आवश्यक छ । बालबालिकाको शिक्षा र बिरामीको नियमित औषधोपचारमा कुनै अवरोध हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ । अहिलेको मुख्य आवश्यकता जनतालाई राहत र भरोसा दिनु हो । हामी सबै मिलेर यो संकटको सामना गर्नुपर्छ र राहत कार्यको रफ्तारलाई अझ बढाउनुपर्छ ।’

प्रकाशित: २० भदौ २०८३ ११:११ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast