भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा यसरी हुँदैछ खोज तथा उद्धार

हिमाल प्रेस १९ भदौ २०८३ १९:३९ | Friday, September 4, 2026
भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा यसरी हुँदैछ खोज तथा उद्धार

काठमाडौँ- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ।

नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले शुक्रबार यो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो।

दुवै जनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ। खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ।

यो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ। अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिंकअप गराउने काम भइरहेको सेनाले जनाएको छ।

लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ। यो क्षेत्रमा खोज तथा उद्धार जारी छ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ। टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ।

देवीघाटमा पुल जडान हुँदै

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ। यो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन्।

यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत शुक्रबार प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

प्रकाशित: १९ भदौ २०८३ १९:३९ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast