काठमाडौँ- त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उद्धारपछि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षणका क्रममा उनको अवस्था सामान्य पाइएको हो।
अर्का जीवितै उद्धार गरिएका कविर महर्जनलाई भने थप उपचारका लागि काठमाडौँस्थित छाउनी अस्पताल ल्याइँदैछ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याउन लागिएको हो।
रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका साह र महर्जनलाई नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको हो।
साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला उनी त्यहाँ पुगेका थिए।
महर्जन त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिएका छन्।
भोटेकोशीमा आएको भीषण बाढीपछि सुरुङभित्र फसेका उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरीलगायतका टोली निरन्तर खटिएका थिए।
कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच १० दिनपछि दुवै जनाको जीवितै उद्धार गरिएको हो।


