देउवा समूहले तोक्यो महाधिवेशनको मिति

हिमाल प्रेस १८ भदौ २०८३ २१:०८ | Thursday, September 3, 2026
देउवा समूहले तोक्यो महाधिवेशनको मिति फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशनको मिति तोकेको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसको केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तोकेको हो।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले बैठकले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए।

असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।

विदेशस्थित जनसम्पर्क समितिहरूको कार्यतालिका आवश्यक परामर्शपछि प्रकाशित गरिने कुईकेलले बताएका छन्। त्यस्तै रसुवा भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङ जिल्लाहरूमा पनि अधिवेशनको मिति पछि प्रकाशित गरिनेछ।

बैठकमा प्रस्तुत प्रस्तावमाथि विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक, गोविन्दवहादुर शाह, हरिशरण नेपाली, कल्याणाी रिजाल, गोमाकुमारी भट्टराई, पुष्पराज पराजुली, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, नेपाल किसान महासंघका गणेशचन्द्र तिमिल्सिनाले धारणा राखेका थिए।

यस्ता छन् बैठकका निर्णयहरू :

१.समिति गठन

पन्धौं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरु आवश्यक परामर्श गरि गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय भयो।

२. भ्रातृ संस्थाहरु गठन

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल,  नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल साँस्कृतिक महासंघ लगायत भातृ तथा शुभेच्छुक संघ/संस्थाहरुको तदर्थ समितिहरु  आवश्यक परामर्श गरि गठन गर्ने जिम्मेवारी पन्धौं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई दिने निर्णय भयो ।

३. अधिवेशन तयारी समितिहरु गठन

जिल्ला/प्रतिनिधिसभा निर्वाचन क्षेत्र/प्रदेश सभा निर्वाचन क्षेत्र/पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्नका लागि सम्वन्धित प्रदेशको केन्द्रीय सदस्यहरुको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधिहरु पठाउने निर्णय भयो र केन्द्रीय प्रतिनिधिले यथाशीघ्र जिल्लाहरुमा पुगी भाद्र २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भाद्र २८ गतेभित्र संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति र प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति , असोज ३ गतेभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गरि सक्नेछन । विदेश स्थिति जनसम्पर्क समितिहरुको अधिवेशन तयारी समितिहरु आवश्यक परामर्शगरि सचिवालयले गठन गर्नेछ ।

४. क्रियाशील सदस्य सम्बन्धमा

वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यहरू दिइसक्ने छन र नयाँ क्रियाशील सदस्यहरु, १४ औं महाधिवेशनमा भाग लिएका सबै क्रियाशील सदस्यहरु, १५ औं महाधिवेशनमा भाग लिने गरी १४ औं महाधिवेशनमा निर्णय गरेका सबै क्रियाशील सदस्यहरु, २०८२ पुष १० गते भित्र नविकरण गरिसकेका क्रियाशील सदस्यहरु र २०८२ पुष १० गतेभित्र क्रियाशील फारम भरि सकेको नयाँ क्रियाशील सदस्यहरू लाई १५ औं महाधिवेशनमा भाग लिन दिने निर्णय गरियो । क्रियाशील सदस्यता सम्बन्धी कुनै विवाद आएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने निर्णय गरियो ।

५. १५ औं महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१,२२ र २३ गते काठमाडौंमा गर्ने गरि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मङ्सिर ४ गते प्रदेश अधिवेशनहरु गर्ने निर्णय गरियो । साथै विदेश स्थिति जनसम्पर्क समितिहरुको कार्यतालिका आवश्यक परामर्श पछि प्रकाशित गरिने छ।

रसुवा  भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरु रसुवा, नुवाकोट र धादिङ जिल्लाहरुमा अधिवेशनको कार्यतालिकाहरु  पछि प्रकाशित गरिनेछ ।

६.निर्वाचन समिति

अधिवेशन, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ वटा जिल्ला र जिल्ला मार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र ,प्रदेशसभा निर्वाचन क्षेत्र ,पालिका र वडा अधिवेशनमा निर्वाचन अधिकृत र मतदान अधिकृतहरु  पठाउने निर्णय गरियो।

७. प्रदेश सभा/स्थानीय तह निर्वाचन सम्वन्धमा

प्रदेश सभा, स्थानीय तह(गाउँपालिका नगरपालिका उपमहानगरपालिका महानगरपालिका प्रमुख उपप्रमुख र वडा अध्यक्ष सदस्य) निर्वाचनका लागि सम्बन्धित तह र समितिले इच्छुक उम्मेदवारहरूको नामावली शंकलन र उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरियो ।

८. ११३ औं विपि जयन्ती

११३ औं विपि जयन्तीको कार्यक्रम भाद्र २४ गते भक्तपुर जिल्लामा गर्ने र कार्याक्रम गर्नका लागि नेपाली कांग्रेस भक्तपुर जिल्लाका सभापति श्री दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरियो ।

९. १५ औं महाधिवेशन तयारी समितिको अर्को बैठक २०८३ भाद्र २६ गते  शुक्रबार  दिनको १ः०० बजे सम्पर्क कार्यालय चुनदेवीमा बस्नेछ ।

प्रकाशित: १८ भदौ २०८३ २१:०८ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast