बाढीले अवरुद्ध सडकको विकल्पमा सडक डिभिजनद्वारा चारवटा वैकल्पिक मार्ग सञ्चालन

हिमाल प्रेस १८ भदौ २०८३ १७:४५ | Thursday, September 3, 2026
बाढीले अवरुद्ध सडकको विकल्पमा सडक डिभिजनद्वारा चारवटा वैकल्पिक मार्ग सञ्चालन

काठमाडौँ- भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी-त्रिशूली राजमार्ग र विभिन्न पुलहरूमा क्षति पुगी यातायात ठप्प भएपछि सडक डिभिजन नुवाकोटले वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएको छ।

रसुवा र धादिङ क्षेत्र समेत हेर्ने डिभिजनले बाढीबाट प्रभावित क्षेत्रमा निर्माण, मर्मत तथा स्तरोन्नति गरी तत्कालका लागि चारवटा वैकल्पिक मार्गमार्फत यातायात सुचारु गराएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई समेट्ने गरी पृथ्वी राजमार्गको मास्टारदेखि त्रिशूली पुल, केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्मको १५ किलोमिटर वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, त्रिशूली पारिको भूभागलाई जोड्न गल्छीबाट त्रिशूली नदीको दायाँ किनारतर्फ कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशूली बजार तथा किस्पाङ गाउँपालिकाको सीमासम्म ४० किलोमिटर सडक खुलाइएको छ।

देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पका रूपमा पिपलटार-धमले-निरञ्जना-बाघखोर-हर्रे-देउराली-कोल्पुटार जोड्ने ३५ किलोमिटर सडकबाट चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गराइएको छ।

यस्तै, त्रिशूली-बेत्रावती राजमार्गमा क्षति पुगेपछि रसुवा आवतजावतका लागि मध्यपहाडी राजमार्गको ढिकुरेबाट फेदी बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे हुँदै बोगटीटारसम्मको १२ किलोमिटर नुवाकोट खण्ड सुचारु गरिएको छ।

सोही मार्गको रसुवा खण्डमा पनि तीव्र गतिमा मर्मत कार्य भइरहेको छ। सडक डिभिजन नुवाकोटले आपत्कालीन अवस्थामा हेभी उपकरणहरू प्रयोग गरी पहिरो पन्छाउने, कल्भर्ट निर्माण गर्ने तथा ग्राभेल हालेर सडक खुलाउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित: १८ भदौ २०८३ १७:४५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast