काठमाडौँ- मकवानपुरको भैँसेस्थित सडकमा ईभी कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३२ च १०६२ नम्बरको डायुन मोडलको ईभी कार भैँसेस्थित तृकण्डेश्वर महादेव मन्दिरनजिक दुर्घटना भएको हो।
दुर्घटनामा परी चालक जितेन्द्रकुमार साह र कारमा सवार रिन्ता माया भुजेल घाइते भएको प्रहरीले जनाएको छ। भैँसे प्रहरी चेक पोस्टका असई गगनदेव भगतले सडकमा गाडी आफैँ दुर्घटना भएको बताए।
‘बाटो ठीकै छ, दुर्घटना हुने बाटो त छैन। कसरी दुर्घटना भयो बुझ्दै छौँ,’ उनले भने।
यता गाडीका मालिका राजेश महतोले भने आफैँ स्टेरिङ लक भएर दुर्घटना भएको दाबी गरेका छन्। प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १८ भदौ २०८३ १७:१७ | Thursday, September 3, 2026
प्रतिक्रिया


