कसले कति सहयोग गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम?

हिमाल प्रेस १८ भदौ २०८३ १५:३५ | Thursday, September 3, 2026
कसले कति सहयोग गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम?

काठमाडौँ- भोटेकोशी-त्रिशूली नदी प्रभावितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्ने क्रम बढेको छ। देशका विभिन्न स्थानीय तह, निजी क्षेत्र, अस्पताल, राजनीतिक दलका संगठन तथा व्यक्तिगत तर्फबाट कोषमा करोडौँ रुपैयाँ दाखिला गरिएको छ।

सहयोग रकम दाखिला गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले संयुक्त रूपमा एक करोड ७७ लाख रुपैयाँ जम्मा गरेका छन्। जसमा भुम्लु गाउँपालिकाले ३० लाख, नमोबुद्ध नगरपालिकाले २७ लाख ५० हजार, बनेपा नगरपालिकाले १५ लाख, पनौती नगरपालिकाले ३० लाख तथा पाँचखाल, धुलिखेल, रोशी र चौँरीदेउराली पालिकाले १०/१० लाख रुपैयाँ योगदान गरेका छन्।

त्यसैगरी, काभ्रेको धुलिखेल नगरपालिका-११ निवासी रवि धितालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गरे।

विभिन्न उद्योगी व्यवसायी तथा संस्थाहरूले पनि ठूलो रकम कोषमा जम्मा गरेका छन्। वीरगन्जस्थित मारवाडी ट्रष्ट र चाचन समूहले ५२ लाख ११ हजार रुपैयाँ संकलन गरी राहत कोषमा दाखिला गरेको जानकारी चाचन समूहका अध्यक्ष बाबुलाल चाचानले दिए।

काठमाडौँको ठमेलस्थित रमादा होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको जानकारी होटलका अध्यक्ष जगन्नाथ ज्ञवालीले दिए।

त्यसैगरी, बुटवलको गौतमबुद्ध सामुदायिक अस्पतालका चिकित्सक तथा कर्मचारीका तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा दाखिला गरिएको जानकारी अस्पतालका अध्यक्ष एजाज आलमले दिए।

स्थानीय तहहरूले पनि जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको तलबबाट रकम संकलन गरी कोषमा पठाएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ रुपैयाँ उपलब्ध गराएको जानकारी नगर प्रवक्ता मनोज पौडेलले दिए।

बाजुराको बूढीगंगा नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलबबाट २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताए।

सिरहाको लहान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको तलबबाट संकलन गरिएको ११ लाख रुपैयाँ कोषमा दाखिला गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको तलबबाट पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको जानकारी गाउँपालिका अध्यक्ष हिदम लामाले दिए।

लमजुङको बेँसीसहर नगरपालिकाले पनि जनप्रतिनिधि र कर्मचारीको मासिक तलबबाट पाँच लाख रुपैयाँ दाखिला गरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए।

नेपाली कांग्रेस बनेपा नगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट संकलन गरेको दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरेको जानकारी नगर सभापति महेशकुमार कर्माचार्यले दिए।

प्रकाशित: १८ भदौ २०८३ १५:३५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast